निर्वाचन कहिले र कसरी गराउने भन्ने विषय सरकारमा निर्भर : गगन थापा
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १५:१८
shares

सारांश
- गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्रै नभई सरकारको पनि भएको बताएका छन्।
- सरकारले सामान्य अवस्थामा राजनीतिक दल र प्रतिपक्षलाई नचिने पनि निर्वाचनका बेला भने त्यस्तो व्यवहार गर्न नपाउने उनको भनाइ छ।
- दलहरूबीच स्थानीय तह र प्रदेश सभाको निर्वाचनबारे सहमति नजुटेपछि अब राजनीतिक संयन्त्रको बैठकमा यसबारे छलफल हुने भएको छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्रै नभई सरकारको पनि भएको बताएका छन्।
सरकारले सामान्य अवस्थामा राजनीतिक दल र प्रतिपक्षलाई नचिने पनि निर्वाचनका बेला भने त्यस्तो व्यवहार गर्न नपाउने उनको भनाइ छ। निर्वाचन आयोगसँग छलफलपछि बाहिरिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीमा उनले आयोगले स्थानीय निर्वाचन वैशाख र प्रदेश सभा निर्वाचन मंसिरमा गर्न प्रस्ताव नगरेको बताए । तर निर्वाचन कहिले र कसरी गर्ने भन्नेमा सरकार प्रस्ट हुनुपर्ने उनको भनाइ छ ।
आयोगसँग शुक्रबार भएको छलफलमा पनि दलहरूबीच स्थानीय तह र प्रदेश सभाको निर्वाचनबारे सहमति नजुटेपछि अब राजनीतिक संयन्त्रको बैठकमा यसबारे छलफल हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले आयोगसहितको बैठकमा निर्वाचनको मितिबारे सहमति हुन नसकेको जानकारी दिए। आयोगले निर्वाचनको तयारी थाले पनि सरकारले भने अहिलेसम्म यसबारे कुनै कुरा सार्वजनिक गरेको छैन ।
स्रोतका अनुसार वर्तमान सरकार स्थानीय तह र प्रदेश सभाको निर्वाचन छुट्टाछुट्टै मितिमा गराउन चाहन्छ । यसो गर्दा आगामी राष्ट्रिय सभा निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफू अनुकूल नतिजा ल्याउन सकिन्छ ।

























