‘सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख’
वि.सं.२०७५ पुस ५ बिहीवार ००:४२
shares

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख रहने बताएकी छन् ।
भूमि प्रशिक्षण केन्द्रद्वारा नवप्रवेशी नापी अधिकृतका लागि सञ्चालित तीनमहीने भूमि प्रशासन तथा कार्यालय व्यवस्थापनसम्बन्धी सेवा प्रवेश तालीम समापन कार्यक्रमलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै उनले भनिन्, ‘सरकार र कर्मचारी एकअर्काका परिपूरक हुन्, सरकार राम्रो बनाउने कर्मचारीले नै हो ।’ उनले कर्मचारीले राम्रो काम गरे सरकार राम्रो हुने र नराम्रो गरे सरकार पनि नराम्रो हुने उल्लेख गरीन् ।
मन्त्री अर्यालले खटिएको ठाउँमा सुशासन कायम गर्न दत्तचित्त हुन कर्मचारीलाई आग्रह गरिन् । उनले भनिन्, ‘तपार्इंहरु आफू प्रशंसित हुने गरी काम गर्नुपर्छ, जहाँ जनताले सहज तवरले सेवा पाऊन् ।’ उनले कर्मचारीलाई ‘अर्जुन दृष्टि’ कायम राख्न आग्रह गरिन् । मन्त्री अर्यालले नापी सेवा प्रभावकारी बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीलाई निर्देशन दिइन् । उनले २७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मुलुकको परिस्थितिअनुसार आफूलाई ढाल्दै जनताको सेवामा समर्पित रहन आग्रह गरे । मैनालीले भने, ‘तपाईंहरु नजिक हैन, कर्णालीबाट काम शुरु गर्छु भनेर प्रण गर्नुस् ।’ प्रजिअ कृष्णबहादुर राउतले नापी अधिकृतले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको भूमि व्यवस्थापनको कार्य सम्पादनमा प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।
रासस

























