बैशाखभित्रै उपनिर्वाचन गराउँन संसदीय समितिको निर्देशन
वि.सं.२०७५ पुस ५ बिहीवार ०१:२६
shares

संसदको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेका पदहरुमा आगामी चैत या बैशाख महिना भित्रमा उपनिर्वाचन गर्ने गरी तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको संख्या यकिन गरी दुई हप्ताभित्र समितिमा पेश गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।
स्थानीय तहमा धेरै जनप्रतिनिधिका पद रिक्त छन् । ति पद छिट्टै यकिन गर्नुपर्ने, जतिसक्दो छिटो जनप्रतिनिधि रिक्त रहेको पदमा उपनिर्वाचन गर्न ऐन ल्याउनु पर्ने, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचन मिति तोक्ने विषयमा समितिले निर्देशन दिएको हो ।
यसैगरी विदेशमा रहेका नेपाली नागरिकहरुलाई निर्वाचनमा सहभागी गराउन के-के विषयमा तयारी गर्नु पर्ने हो त्यस सम्बन्धमा प्रतिवेदन तयार गरी समितिमा पेश गर्न पनि समितिले निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको पदमा उपनिर्वाचन गर्न संशोधन गर्नु पर्ने आवश्यक ऐन र नयाँ ऐनहरु केही नेपाल ऐन संशोधन मार्फत ल्याउने तयारी गरिरहेको बताए ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले प्रदेशसभामा रिक्त रहेको पदमा निर्वाचन गर्न आयोगलाई मिति तोक्ने अधिकार भए पनि स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा भने व्यवस्था नरहेको बताए । प्रमुख आयुक्त यादवले जनप्रतिनिधि रिक्त रहेको स्थानीय तहको उपनिर्वाचन गर्ने अधिकार हाल रहेका कुनै पनि निर्वाचन सम्बन्धी ऐनले आयोगलाई नदिएको भन्दै उपनिर्वाचनका लागि नयाँ ऐन ल्याउन आवश्यक रहेको बताए ।

























