नेपाल पत्रकार महासंघमा अब प्रत्यक्ष निर्वाचन प्रणाली
वि.सं.२०७५ पुस ६ शुक्रवार २३:१६
shares

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न सम्मेलनले १२ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ ।
दुई दिनसम्म चलेको सम्मेलनले अबदेखि नेपाल पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुने बाटो समेत खोलेको छ । खर्चिलो र भड्किलो तरिकाले हुँदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा बिकृती बढाउन थालेको भन्दै विकल्प खोज्न निर्देश गरेपछि अगामी निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्न बाटो खुलेको हो ।
महासंघका अध्यक्ष गोविन्द आर्चायले विराटनगरमा भएको राष्ट्रिय सम्मेनलको निर्णयलाई यही पुस ६ र ७ गते धनकुटामा बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने र फागुनमा हुने साधारण सभाबाट विधान शंसोधन गरी विधिवत रुपमा प्रत्यक्ष निर्वाचन प्रणालीको थालनी गराउने बताए ।
नेपाल पत्रकार महासंघले हालसम्म केन्द्रको निर्वाचन पार्षद प्रणालीबाट गराउदै आएको छ । त्यसैगरी राष्ट्रिय सम्मेलनले सदस्य वितरणको अनुगमन नियमन गर्ने अधिकार प्रदेश समितिलाई हस्तान्तरण गरेको छ । भेलाले निजामती कर्मचारी र सक्रृय नभएका पत्रकाहरुको सदस्यता नविकरण नगर्ने अनि शुद्धिकरणमा सबै जिल्ला शाखाहरुलाई कठोर बन्न पनि निर्देश गरेको छ ।
सरकारले लागू गरेको न्युनतम पारिश्रमिक लागू गराउन पत्रकार महसंघ हदै सम्म कठोर बन्ने र समस्या भएका ठाउँमा कडा भन्दा कडा आन्दोलन गर्ने पनि निर्णय गरेको छ । पत्रकारहरुको पेशाको पूर्ण सुरक्षाका लागि समाजिक सुरक्षाको योगदानलाई अगाडि बढाउने पहल थाल्न पनि सम्मेलनले महासंघलाई निर्देश गरेको छ ।
साथै सक्रिय श्रमजीबी पत्रकाहरुलाई सबै खाले सञ्चार सामग्रीहरु सञ्चारगृहले उपलव्ध गराउनु पर्ने र नगराएमा सो बराबरको पारिश्रमिक उपलब्ध गराउनु पर्ने लगायतको निर्णय गरेको छ ।
सम्मेलनको बन्दसत्रमा महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, शिव गाउँलेले प्रेस स्वतन्त्रता र कानुन अनि निर्वाचन प्रणालीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । महासंघका उपाध्यक्ष विपुल पोखरेलले प्रदेश समितिको अधिकारबारेको निर्देशिका र महासचिव रमेश बिष्टले प्रस्तुत गरेको संगठनको आवधिक प्रतिवेदनमाथि बृहत्त छलफल भएको थियो ।
छलफलमा सहभागी शाखा अध्यक्षहरुले महासंघलाई ट्रेडयुनियन अधिकारमा लान अनि सदस्यता विरतणमा परीक्षा प्रणाली लागू गर्न माग पनि गरेका थिए ।

























