दाङको राम्रीमा विद्यार्थी चढेको बस दुर्घटना
वि.सं.२०७५ पुस ७ शनिवार ००:१७
shares

दाङस्थित तुलसीपुर उपमहानगरपालिका-३ राम्री नजिक विद्यार्थी चढेको बस दुर्घटनाग्रस्त भएको छ । सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित झण्डै ३० जना चढेको बस दुर्घटनाग्रस्त भएको हो ।
उक्त बस विद्यार्थीहरू सल्यान कपुरकोटस्थित मूलपानी वनस्पति उद्यानको अवलोकन भ्रमणमा गएर फर्कँदै गर्दा दुर्घटनामा परेको हो ।
तुलसीपुर उपमहानगरपालिका-३ का वडाध्यक्ष वीर बहादुर बिकले दिएको जानकारी अनुसार बस करिब ३०० फिट तल खसेको छ । ‘बस छाँगोजस्तो ठाउँबाट खसेको छ,’ उनले न्युज कारोबारसँग भने, ‘उद्धारमा प्रहरी, प्रशासन स्थानीय लगायत सबै जुटेका छौं ।’
वडाध्यक्ष विकका अनुसार दुर्घटनास्थलमै राप्ती अञ्चल अस्पतालबाट चिकित्सक अाएका छन् । ‘स्थित एकदमै गम्भीर छ, बस ३०० फिटभन्दा तल खसेको छ,’ उनले भने, ‘रात पर्न थालिसक्यो प्रहरी, प्रशसन, स्थानीय, हामी सबै उद्दारमा जुटेका छौं ।’
बस धेरै तल खसेकाले क्षतिको यकिन विवरण अाइ नसकेको उनले बताए ।

























