काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अबको साढे तीन वर्षमा काठमाडौं स्वर्गजस्तै बन्छ : ईश्वरमान डंगोल

33.01K
shares

ईश्वरमान डंगोल काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १५ का वडाअध्यक्ष हुन् । ०५४ सालको स्थानीय निर्वाचनमा पनि वडाध्यक्ष जितेका उनले दोस्रो पटकको विजयपछि आमनागरिकलाई सकेसम्म निराश हुन दिएका छैनन् । वडा नम्बर १५ मा उनले गरेका पारदर्शी र उपलब्धिमूलक कामकै कारण हालैमात्र महानगरको प्रवक्ताको जिम्मेवारी पाएका हुन् । महानगरपालिकाले हालसम्म गरेका काम, आगामी योजना र लक्ष्यप्राप्तिका लागि चाल्ने कदमका विषयमा प्रवक्ता डंगोलसँग गरिएको कुराकानी :

 

काठमाडौं महानगरले जनअपेक्षाअनुसार काम गर्न सकेन भन्ने गुनासो व्यापक छ नि !

जनताले चासो राख्नु स्वाभाविक हो । गुनासो र असन्तुष्टि पोख्नुलाई म अस्वाभाविक मान्दिनँ । तर, कतिपयले केही नै काम नभएको जसरी टिप्पणी गरिरहेका छन्, यसमा भने म सहमत छैन । किनकि, २० वर्षपछि स्थानीय सरकार बनेकाले केही कुरा सिस्टममा ल्याउन समय लाग्छ । चुनावी घोषणापत्रमा जे–जे कुरा उल्लेख थिए, त्यहीअनुसार हामी काम गरिरहेका छौं ।

स्थानीय सरकार बनेको डेढ वर्ष भयो, उपलब्धि देखिने गरी के–के काम गर्नुभयो ?

यो अवधिमा हामीले थुप्रै योजना सम्पन्न गरेका छौं भने कतिपय दीर्घकालीन योजना थालनी पनि गरेका छौं । सहरलाई व्यवस्थित गर्ने काम भइरहेको छ । सोहीअनुसार भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माण, आकाशे पुल निर्माण र महत्वपूर्ण नगर प्रोफाइल बनाएका छौं । घोषणापत्रमा उल्लेख भएअनुसार मोनोरेलको योजना सफल पार्न डिपीआर तयार गर्नका लागि हालैमात्र चाइना रेल्वे कम्पनी लिमिटेडसँग सम्झौता गरिएको छ । यस्तै, झन्डै ३५ किलोमिटर सडक कालोपत्रे र ९८ हजार वर्गमिटरभन्दा बढी सडक मर्मत गरिएको छ । ६० करोड रुपैयाँभन्दा बढीका २ सय १५ जति योजना चालू अवस्थामा छन् भने ७ करोड रुपैयाँबराबरका ५० भन्दा बढी योजना यसअघि नै सम्पन्न भइसकेका छन् । यसैगरी, नागरिक सरोकार, भौतिक पूर्वाधार विकास, समावेशी र पहुँचयुक्त सहर निर्माण, मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा र व्यवस्था तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत महानगरका काम सन्तोषजनक छन् । काठमाडौंलाई प्रदूषणमुक्त बनाउन मेयरसा’बको अग्रसरतामा ‘क्लिन द सिटी’ अभियान नै सुरु भएको छ, जुन ३२ वटै वडामा कार्यान्वयन हुनेछ । यस्तै, सम्पदा क्षेत्रलाई ‘वाइफाई फ्री जोन’ का रुपमा हामीले विकास गरेका छौं । सडकलाई धुलोरहित बनाउन पाँचवटा ब्रुमर ल्याउँदै छौं । स्वयम्भू पुनर्निर्माणको काम थालनी भइसकेको छ । सार्वजनिक स्थललाई संरक्षण गर्दै पार्कहरु निर्माण गर्ने काम अघि बढाएका छौं । कमलपोखरीलगायतका पार्क १२ करोडको लागतमा निर्माण भइरहेका छन् ।

डेढ वर्षमा महानगरले गरेका काम पर्याप्त हो त !

हेर्नुस्, विद्यासुन्दर शाक्यको ठाउँमा अर्को वा ईश्वरमानको ठाउँमा अर्को कुनै व्यक्ति आएको भए यति पनि काम गर्न सक्थ्योजस्तो मलाई लाग्दैन । महानगरले अहिले सम्पन्न गरेका काम पनि धेरै नै बाधा–अवरोध छिचोलेर गरेको हो । २० वर्षदेखि भद्रगोल अवस्थामा रहेको सहर, संरचना र प्रणालीलाई व्यवस्थित गरेर यति छोटो समयमा महानगरले गरेको काम उत्साहजनक हो ।

नागरिकस्तरबाट किन व्यापक आलोचना भएको त !

बुझाइको समस्याले हो । अर्कोतिर विपक्षीले काम नै भएन भनेर हल्ला गरिदिए । कतिपय हल्लाका पछि दगुरे । तर, धेरैजसो जनताले बुझिसकेका छन्, महानगरबाट धेरै काम भएको छ ।

नबुझेर विरोध भयो भन्नुभयो, के कुरा बुझेनन् जनताले ?

हेर्नुस्, काठमाडौं महानगरपालिकामा ३२ वटा वडा छन् । तर, बढी आलोचना ३२ वडाभन्दा बाहिरबाट भएको छ । भक्तपुरको कुनै नगरपालिकाको सडकमा खाल्डो देख्नेले विद्यासुन्दर शाक्यको आलोचना गरेको पाइन्छ, टोखाको समस्यालाई लिएर काठमाडौं महानगरलाई गाली गरेको सुनिन्छ । यो बुझाइको समस्य हो । हामीले त पूर्वाधार विकासमा विशेष जोड दिएका छौं । बोल्नेभन्दा काम गर्नेतिर आफूलाई केन्द्रित गरेका छौं । कतिपय कामका उपलब्धि आजको आजै देखिँदैनन्, केही समय लाग्छ । तर, जब देखिन्छ, जनताले दिल खोलेर स्वागत गर्नेछन् । अहिले आलोचना गर्नेले प्रशंसा गर्न थाल्नेछन् ।

तपाईं त ०५४ सालमा पनि वडाध्यक्ष भएको व्यक्ति, तुलनात्मक रुपमा काम गर्न त्यतिबेला सजिलो कि अहिले ?

अहिले अलि बढी चुनौतीपूर्ण छ । किनकि, जनसंख्या बढी छ, काम गर्नुपर्ने योजना थुप्रै छन्, समस्या पनि थुप्रै छन् तर स्रोत र साधन पर्याप्त छैन । अहिले सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको छ । वडा कार्यालयमा सेवाग्राहीको भीड हुन्छ । थुप्रै योजनाको माग हुन्छ । तर, हामीसँग अझै पनि सीमित स्रोत छ । यद्यपि, हामीले यस्ता चुनौती छिचोलेर जनअपेक्षा पूरा गर्ने पहल गर्न भने छाडेका छैनौं र छाड्दैनौं पनि ।

प्रदूषण र सडक जामको समस्यालाई कसरी समाधान गरिँदैछ ?

वास्तवमा, काठमाडौंबासीको मुख्य समस्या भनेकै वायु प्रदूषण र सडक जाम हो । यसलाई सम्बोधन गर्न महानगरपालिका गम्भीर छ । प्रदूषण रोक्न हामीले काठमाडौंलाई हराभरा पार्ने योजना ल्याएका छौं । पार्क निर्माण, वडा–वडामा वृक्षारोपण, क्लिन द सिटीजस्ता योजना कार्यान्वयनको चरणमा छन् । तत्काललाई सडक जामको समस्या कम गर्न ‘पिक एन्ड ड्रप’ प्रणाली लागू गरेका छौं । यसो गर्दा यात्रु र सवारी धनी दुवैले फाइदा लिएका छन् भने सडक जामको समस्या पनि केही हदसम्म समाधान भएको छ । तर, यसको दीर्घकालीन समाधानका लागि पनि महानगरले योजनाहरु ल्याएको र तीमध्ये कतिपय कार्यान्वयनको चरणमा छन् । सडक जाम कम गर्न मुख्य चोकहरुमा क्रस ब्रिजहरु राखिनेछ ।

महानगरका आगामी योजना के छन् ?

महानगर आफू पनि समृद्ध बन्ने र आफ्नो वरिपरिका नगरपालिकालाई पनि समृद्ध बनाउने योजनाका साथ अघि बढेको छ । चाबहिलमा मेयरसा’ब सहित हामीले हालैमात्र गएर अवलोकन गरेका छौं, कहाँनेर क्रस ब्रिज राख्दा यात्रुलाई पनि सहज हुन्छ र सडक जाम कम गर्न सहयोग पुग्छ । यस्ता थुप्रै चोकमा हामी क्रस ब्रिज राख्नेछौं । कालोपत्रे गर्न बाँकी सडकहरु कालोपत्रे गर्ने र मर्मत गर्नुपर्नेलाई मर्मत गर्नेछौं । वडा–वडामा सेवाप्रवाह चुस्त पार्नेछौं । कर संकलन र त्यसको प्रयोगलाई थप व्यवस्थित र पारदर्शी बनाउनेछौं । काठमाडौंलाई बनाउन सक्ने हो भने यो स्वर्ग बन्छ । हामी यसलाई स्वर्ग बनाउने अभियानमा छौं । यसमा जनताको बलियो साथ हामीलाई मिल्नेछ भन्नेमा म विश्वस्त छु ।

डेढ वर्ष बितिसक्यो, अब अर्को निर्वाचन हुन साढे तीन वर्ष बाँकी छ । अबको साढे तीन वर्षमा काठमाडौं कस्तो हुन्छ, तपाईंहरुको परिकल्पना कस्तो छ ?

सबै जनताको साथ र सहयोग भएमा अबको साढे तीन वर्षमा काठमाडौं हराभरा र सुन्दर सहरको रुपमा विकसित भएको हुनेछ । सबै सडकमा सडक बत्तीहरु जडान गरिएको हुनेछ । सहर प्रदूषणमुक्त र सडक जाममुक्त हुनेछ । नागरिकहरु खुसी हुनेछन् । पार्कहरु बन्नेछन् । चारैतिर हरियाली हुनेछ । विदेशी पाहुना आउँदा आटिर्फिसियल हरियाली खडा गर्नुपर्ने छैन ।

यी सबै काम गर्न हामीलाई सबैको साथ र सहयोग आवश्यक हुन्छ । सबै कुरामा गुनासोमात्रै गर्ने र नकारात्मक भएर व्याख्या विश्लेषण गर्न थालियो भने भइसकेका उपलब्धि पनि रक्षा गर्न सकिँदैन । जनप्रतिनिधि भनेका जनताकै कामका लागि चुनिएका हुन् । फेरि बाहिरबाट देखिएजस्तो पदमा बसेर काम गर्न सजिलो हुँदैन । धेरै समस्या र चुनौती पन्छाउँदै अघि बढ्नुपर्ने हुन्छ, जसले गर्दा केही समय बित्न सक्छ । तर, त्यसपछि कामको प्रभावकारिता बढ्नेछ ।