Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

कर्णालीमा ७ सय ५१ जनालाई लगाइयो कोरोनाविरूद्धको खोप

न्युज कारोबार काठमाडौं माघ १४, २०७७       

कर्णालीमा ७ सय ५१ जनालाई लगाइयो कोरोनाविरूद्धको खोप
कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्कालाई पहिलो खोप दिएर खोपको सुरुवात गरिएको हो । कर्णालीका १० वटा जिल्लामा खोप लगाउन सुरु भएको छ । डोल्पामा पनि आजैबाट सुरु गरिने स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । भारत सरकारबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको खोप नेपाल सरकारले कर्णालीका दश जिल्लाका लागि पहिलो चरणमा ११ हजार ५८१ डोज पठाएको छ । जसमा बुधबार ७ सय ५१ खोप लगाइएको छ । प्रदेश अस्पताल सुर्खेतमा २ सय २५, मेहेलकुना अस्पताल सुर्खेतमा ८४, दैलेखमा २०, सल्यानमा ३०, रुकुमपश्चिममा ३०, हुम्लामा २९, मुगुमा ४०, जाजरकोटमा ४०, कालिकोटमा ७९, चोरहजार अस्पताल रुकुमपश्चिममा ३१ , जुम्लामा १ सय २३ र डोल्पामा २० कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनले खोप लगाएकामध्ये चारजनाको स्वास्थ्यमा सामान्य असर देखिएको बताए । खोप लगाएपछि करिब दुईघण्टासम्म त्यसको असर देखिसक्ने उनले बताए । पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाउने बताइएको छ । खोप कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकामध्ये इच्छुकले खोप लगाउन सक्नेछ । पहिलो खोप लगाएको चार सातापछि दोस्रो खोप लगाइने निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

सम्बन्धित खबरहरु