माइकल आँधीमा परी ज्यान गुमाउनेको संख्या १७ पुग्यो
वि.सं.२०७५ असोज २७ शनिवार १९:२५
shares

अमेरिकामा माइकल आँधीमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । आँधीमा परी केही मानिस बेपत्ता भएकाले मृतकको संख्या थपिन सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् । आँधीले फ्लोरिडा राज्य र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले ‘मेक्सिको बिचु पूर्ण रुपमा उजाड भएको बताएका छन् । यहाँ बम पड्किएझैं भएको थियो,’ करिब एक हजार मानिस बसिरहेको ठाउँको स्थलगत भ्रमणबाट फर्किएपछि सञ्चारमाध्यमसँग उनले भने,’यो युद्धग्रस्त क्षेत्रजस्तै भएको देखिएको छ ।’
उद्धार टोलीहरुले शुक्रबार मेक्सिको बिचमा मानिस पत्ता लगाउने कुकुरसमेत साथै लिएर खोजी गरिरहेका थिए । अमेरिकी सञ्चारमाध्यमहरुले सहरमा एकजना वृद्धको मृत्यु भएको खबर प्रसारण गरेका थिए । ती वृद्ध व्यक्तिको शव घरबाट धेरै टाढा भेटिएको थियो ।
संघीय आपतकालीन व्यवस्थापन निकाय ९फेमा० का प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्न सक्ने बताएका छन् । ‘मेरो आशा धेरै मानिसको मृत्यु नभए राम्रो हुने थियो तर परिस्थिति हेर्दा ज्यादै प्रभावित इलाकामा खोजी कार्य बाँकी नै रहेकाले अरु केही व्यक्तिको मृत्यु भएको हुनसक्छ,’ उनले भने ।
आँधीले मेक्सिको बिचका दर्जनौं घर, पसल र रेस्टुराँको जग नै उखेलिएको छ । २५० किमी प्रतिघण्टाको बेगमा चलेको हावाले उडाएर यस्ता संरचना सयौं फिट टाढा पुर्याएको अधिकारीहरूले बताएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार मेक्सिको बिचमा मानिसलाई अनिवार्य रुपमा घर छाड्न आदेश दिइएको थियो तर केही मानिसले अटेर गरेर घरमै बसेका कारण बढी क्षति भएको हो । फ्लोरिडाका सिनेटर मार्को रुबिओले अन्तिम क्षणमा केही मानिस घर छाडेर बाहिर निस्केको वा अन्यत्रै गएका हुनसक्ने बताए ।
यसैबीच्, राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने भएका छन् । ‘मानिसलाई जर्जियामा माइकल आँधीले कति प्रभावित तुल्यायो भन्ने थाहा छैन,’ ट्रम्पले ट्विटमार्फत भनेका छन्, ‘म अर्को साताको सुरुमै फ्लोरिडा र जर्जिया जाँदैछु । हामी सबै ठाउँमा काम गरिरहेका छौं । हामी तपाईंहरुकै साथमा छौं ।’
फ्लोरिडा प्यानह्यान्डलमा सन् १८५१ पछि यसपटकको माइकल आँधी सर्वाधिक विनाशकारी रहेको बताइएको छ । पेन्टागनका अनुसार करिब पाँच हजार सेना र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको छ भने एक सय हेलिकप्टर र एक हजार आठ सय पानीमा चल्ने उपकरण परिचालन गरिएको छ ।
(एजेन्सी)

























