वर्षमा एकपटक धर्ती छोड्नु पर्दैन ?
वि.सं.२०७५ असोज २७ शनिवार १८:५४
shares

नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पिङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म पिङ हालेर खेलिने चलन अहिले लोप हुँदै गएको हो ।
दशैँका बेला बस्तीका टोलमा पिङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पिङप्रति चासो नै छैन । युवा पुस्ता पिङप्रति आकर्षित हुन नसक्दा पिङ खेल्ने संस्कृति नै हराउन थालेको हो ।
वर्षको एक पटक धर्ती छोड्नु पर्छ भन्ने मान्यताका कारणले पिङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । किशोर, युवादेखि वयस्क उमेर समूहका मानिस पिङ खेलप्रति निकै आकर्षित हुने गर्दथे । आधुनिक जीवनशैलीका कारण मानिस पिङप्रति रुचि देखाउन छाडेका छन् ।
व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढुङ्गका पिङ खेल्न पाइने भएपछि पिङप्रतिको रुचि कमजोर हुँदा दशैँ तिहारमा खेलिने पिङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो ।
पाल्पा बगनाकाली गाउँपालिका–९ का कृष्ण भुसालले बाल्यकालमा लिङ्गे पिङ निकै खेलिने र रमाइलो हुने गरेको अनुभव सुनाए । उनले काठे पिङभन्दा लुठे पिङ खेल्दा रमाइलो हुने र सबै पिङ खेल्न आतुर हुने गर्थे । भुसालले भने, ‘पहिला एउटा बस्तीमा एउटा पिङ देखिए पनि अहिले एउटा पनि देखिएको छैन ।’
बगनाकाली गाउँपालिका–६ यम्घाका रामप्रसाद दर्मले १५ वर्षदेखि पिङ खेल्न नपाएको बताए । पिङ बनाउने मानिस गाउँमा नभएपछि धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन् । खरले बाटेर लिंगे पिङ बनाउने गरिएको अुनुभव उनले सुनाए ।
पूर्वी पाल्पाको रामपुर नगरपालिका–७ बागमतीका यमबहादुर सुनारले काठको पिङ देखिनै छाडे पनि लिंगे पिङ रामपुर क्षेत्रमा अझै देखिन्छ, पहिलाको तुलनामा विस्तारै हराउन थालेको सुनारले बताए । युवा पुस्ताको पिङप्रति आकर्षित छैनन्, जसका कारण पिङ नै पहिलाभन्दा कम हालिने सुनारको भनाइ छ । काठ अभावमा काठे पिङ बनाउन सम्भावना नै नभएपछि लिंगे पिङ खेलेर मनोरञ्जन लिन रुचाउँछन् ।
सार्वजनिक स्थलमा भेटिने पिङहरू मानिसको मनोरञ्जनको साधनका रूपमा लिइने चलन रहेको थियो । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू विस्तारै कमी हुँदा पिङ खेल्न संस्कृति नै हराउँदै गएकामा बुढापाकाहरु चिन्तित छन् ।
युवाहरू रोजगारीका लागि शहर तथा विदेश पलायन भएपछि पिङ खेल्ने संस्कृति नै हराउँदै गएको होइन, बाटो, मन्दिर, पाटीपौवालगायतका सार्वजनिकस्थलसमेत सरसफाइ हुनसकेको छैन ।
(रासस)

























