काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युद्धबन्दी विवादका बाबजुद युक्रेनलाई सहयोग जारी राख्ने दक्षिण कोरियाको प्रतिबद्धता

987
shares

उत्तर कोरियाली युद्धबन्दीलाई सोल पठाएको विषयमा युक्रेनसँग कूटनीतिक विवाद उत्पन्न भए पनि दक्षिण कोरियाले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार अन्तरराष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रूपमा युक्रेनलाई सहयोग उपलब्ध गराउने आफ्नो नीतिगत अडान कायम रहने बताएको छन् ।

‘जुङआङ इल्बो’ पत्रिकाका अनुसार, विदेश मन्त्रालयले आगामी वर्षको बजेटमा युक्रेनका लागि करिब १० करोड अमेरिकी डलर सहयोग प्रस्ताव गरेको छ । प्रस्तावित सहयोगमध्ये पाँच करोड डलर नेटो ट्रस्ट फन्ड र दुई करोड डलर मानवीय सहायताका लागि छुट्याइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले गत जुलाईमा नेटो शिखर सम्मेलनका क्रममा युक्रेनलाई १० करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थिए।

त्यतिबेला उनले युक्रेनी जनतालाई आवश्यक मानवीय सहायता उपलब्ध गराउनुका साथै युक्रेनको पुनरुत्थान तथा पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय प्रयासमा सहभागी हुने बताएको थिए।

विदेश मन्त्रालयका अधिकारीको पछिल्लो भनाइ दुई देशबीच युद्धबन्दीको विषयलाई लिएर तनाव उत्पन्न भएको पृष्ठभूमिमा आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत सेप्टेम्बरमा रुसका तर्फबाट युद्ध लडिरहेका बेला पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई युक्रेनले सोल पठाएको खुलासा गरेका थिए ।

दक्षिण कोरियाले उत्तर कोरियामा रहेका ती सैनिकका परिवारको सुरक्षालाई ध्यानमा राख्दै उक्त कदम गोप्य राख्नुपर्ने भन्दै आपत्ति जनाएको थियो । उसले युक्रेनसँग माफी माग्नसमेत आग्रह गरेको थियो । विरोधस्वरूप दक्षिण कोरियाले युक्रेनका लागि आफ्ना राजदूत र दूतावासका केही कर्मचारीलाई फिर्ता बोलाएको थियो ।

विवाद सुरु भएयता पहिलो पटक बुधबार पेरिसमा दुवै देशका विदेशमन्त्रीबीच भेटवार्ता भएको थियो । भेटमा दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले दुई देशबीचका बाँकी समस्याहरू सौहार्दपूर्ण रूपमा समाधान हुने आशा व्यक्त गरेका थिए ।

युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै दक्षिण कोरियासँग गतिशील र व्यावहारिक साझेदारी विकास गर्न आफ्नो देश तयार रहेको बताएको थिए । यस्तो साझेदारी आपसी हित तथा रुसको युद्धमा उत्तर कोरियाको संलग्नताबाट उत्पन्न साझा सुरक्षा चुनौतीमा आधारित हुने उनको भनाइ थियो ।

सिबिहाले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गरेकोमा दक्षिण कोरियाप्रति आभार व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई पूर्ण रूपमा सामान्य बनाउन थप कदम चालिने विश्वाससमेत व्यक्त गर्ेका थिए ।