काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गुद्री बजार सार्न १७ करोडमा तरकारी तथा फलफूल बजार निर्माण

25.68K
shares

मोरङको कटहरी गाउँपालिकामा अत्याधुनिक सुविधासम्पन्न फलफूल तथा तरकारी बजार निर्माण भएको छ । संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करीब १७ करोडको लागतमा कटहरी गाउँपालिका- १ जमटोकीमा सो अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।

विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भई बजार निर्माण भएको हो । १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको तरकारी बजारमा १७ वटा होलसेल पसल राख्न मिल्ने गरी १४ सय ८८ वर्गमिटरमा अत्याधुनिक भवन निर्माण भएको छ । त्यस्तै ३ सय ५१ वर्गमिटरमा खुद्रा विक्री भवन निर्माण गरिएको छ ।

२०७४ सालमा निर्माणको लागि ठेक्का पाएको लामा निर्माण कम्पनी एन्ड रमन निर्माण प्रा.लि जेभी बाट भूमि कन्ट्रक्सनलाई ठेक्का सारेर १३ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा काम थालिएको थियो । पछि तोकिएको समयमा काम नसकिएपछि २ महिना म्याद थप गरिएको थियो ।

गत वर्षको साउनमा आएको बाढीका कारण काम ढिला भएको र निर्माण सम्पन्न गरी सरकारलाई जिम्मा लगाईसकिएको भूमि कन्ट्रक्सनका सञ्चालक अभिनाश बोहोराले बताए । उनले भने, ‘यो आज भन्दा २ वर्ष अगाडि सम्झौता भएको हो । सम्झौता अनुसार समयमै काम सम्पन्न गरेका छौं । बीचमा आएको बाढीका कारण केही समय ढिला हुन गएको हो । त्यपछि सम्झौता अनुसार काम सम्पन्न गरेर सम्बन्धित ठाउँमा हस्तान्तरणका लागि जानकारी गराइसकेका छौं ।’

तरकारी बजार बनाउने जग्गाको संरक्षणको लागि कटहरी गाउँपालिकाले ठूलो भूमिका खेलेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । सो तरकारी बजार निर्माणले कटहरी लगायत आसपासका उपभोक्ता तथा व्यापारीलाई ठूलो सहयोग पुग्ने उनको भनाई छ ।

उनले भने, ‘कटहरी र जहदा गाउँपालिकामा  धेरै तरकारी खेती हुने गरेको छ । कटहरीमै बजार निर्माण भएपछि स्थानीय कृषक र उपभोक्ता त्यसै पनि लाभान्वित हुनेछन् ।’ संघीय सरकार मातहत निर्माण भएको सो बजार प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छैन । बजार निर्माण सम्पन्न भई हस्तान्तरणको पक्रियामा रहेको बताउँदै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले त्यस बजारसँग सम्बन्धित सबै पक्षको प्रतिनिधित्व हुनेगरी बजार सञ्चालक समिति बनाएर बजार सञ्चालन गरिने जानकारी दिए ।

प्रवक्ता यादवले भने, ‘संघीय संरचना अनुरूपको निर्देशिकाका आधारमा बजार सञ्चालन हुन्छ । बजार सञ्चालनमा आएपछि निर्देशिकाले तोके बामोजिमको समिति गठन गरिनेछ । जसमा कृषक, व्यापारि, सरकारीलगायत सबै क्षेत्रको प्रतिनिधित्व हुनेछ ।

तरकारी बजारभित्र उपभोक्ता तथा व्यापारीहरुलाई सहुलियतको लागि तरकारीको मूल्य सूची देखाउँने डिस्प्ले रहनेछ भने ८ हजार टन फलफूल तथा तरकारीको कारोबार गर्न सकिने छ । सो बजारमा प्रति वर्गमिटर ३० टन भण्डारण क्षमता छ । बजार क्षेत्रभित्र २ तल्ले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहार व्यवस्थापन एरिया रहनेछन् ।

साथै बजारभित्र लोड अनलोड एरिया, डिप ट्युबेल, सिसिटिभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरिया समेत रहने छ ।

बजार सञ्चालन भएपछि विराटनगरको गुद्रीका थोक व्यापारीहरुले सो बजारमा सर्नुपर्ने छ । जसका कारणा व्यापारीहरू खिन्न छन् । आफूले व्यापार व्यवसाय गर्दै आएको स्थान सर्नुपर्दा उनीहरू खिन्न बनेका हुन् । व्यापारीहरूलाई नयाँ ठाउँमा नयाँ ग्राहकको मन कसरी जित्ने भन्ने चिन्ताले अहिलेदेखि नै सताउन थालेको छ ।

बजार टाढा हुने भएकोले ब्यापार नहुने उनीहरुको गुनासो छ । विराटनगरमो मुख्य बजारस्थित गुद्री बजारमा तरकारिको थोक व्यपार गरिरहेका रञ्जित रौनियारले महानगरपालिकामा रहेको बजारलाई गाउँपालिकामा सार्दा आफूहरुलाई समस्या पर्ने बताए ।

‘यत्रो वर्षदेखी गुद्रीमै व्यापार गर्दै आएका छौं । महानगरपालिकाबाट गाउँपालिकामा सारेपछी एक त लागत बढ्छ त्यसमाथि हामीले बनाएका ग्राहाक यतै छुट्छन्,’ रौनियारले भने, ‘अर्को ठाउँमा सर्दा हाम्रो व्यवसाय नै चौपट हुन्छ ।’

यस्तै अर्का व्यपारि रोशन भगतले गुद्री बजारबाट आफूहरु नयाँ बजारमा कुनै हालतमा नसर्ने चेतावनी दिएका छन् । ‘यत्रो वर्षदेखि यहाँ व्यपार जमाएका छौं । नयाँ ठाउँमा कसरी हाम्रो व्यवसाय चल्छ ?’ भगतले भने, ‘कुनै हालतमा त्यहाँ जाँदैनौं, त्यहाँ जान जबरजस्ती बाध्य पारिए जस्तोसुकै संघर्ष गर्न पनि पछि पर्दैनौं ।’