जनकपुरका मेयरसँग १६ वडाध्यक्षको तीव्र असन्तुष्टि
वि.सं.२०७५ पुस २६ बिहीवार १३:२१
shares

जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहसँग वडाध्यक्षहरूले तीव्र असन्तुष्टि जनाएका छन् । नगर प्रमुखको काम कारबाहीप्रति असन्तुष्ट बनेका १६ वडाध्यक्षले प्रमुख कार्यकारी अधिकृत उमेश ढुंगानामार्फत बुधबार १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । जनकुपरमा २५ वडा छन् । ज्ञापनपत्रमा पुस मसान्तसम्म माग सम्बोधन नभए माघदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
स्थानीय तह सञ्चालन निर्देशिकाअनुसारका संवैधानिक अधिकार नगर प्रमुखले विकेन्द्रीकरण नगरेर सम्पूर्ण अधिकार आफूले राखेर जनताको काम गर्न नदिएको ज्ञापनपत्रमा उल्लेख छ । असन्तुष्ट वडाध्यक्षहरुले बुझाएको ज्ञापनपत्रमा नगरपालिकाले बढाएको कर फिर्ता गर्न, वडाको दैनिक कार्य र भैपरी आउने कार्यका लागि स्वायत्तता दिन, कार्यपालिका बैठकमा आफ्ना एजेन्डा राख्न पाउने र छलफल गर्न पाउने अधिकार, कार्यपालिका बैठक पारदर्शी बनाउन सञ्चारकर्मी प्रवेशको व्यवस्था हुनुपर्ने, संवैधानिक प्रावधानअनुरूप बजेट विनियोजन हुनुपर्नेलगायतका माग राखेका छन् ।
वडाको कार्यभारअनुसार कर्मचारी व्यवस्था, वार्षिक बजेटबारे सूचना पाउने अधिकार, बजेट बाँडफाँड हुँदा कार्यपालिकाको सहभागिता र बहुमतबाट पारित हुनुपर्ने, परिक्रमा क्षेत्रभित्र मदिरा बेचबिखन बन्द हुनुपर्ने, वडासमितिले गठन गर्ने समितिको जानकारी दिनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई पदमुक्त गरी नयाँ पिँढीलाई मौका दिनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझाउनेहरुमा जनकपुरधाम उपमहानगरपालिका–१ का अध्यक्ष शत्रुधन साह, २ का शिवकुमार साह, ४ का सुदर्शन सिंह, ५ का मनोजकुमार साह, ६ का जगरनाथ साह, ७ का जानकीराम साह, ८ का रमेश ठाकुर, ९ का परमेश्वर साह, १० का मिथिलेशलाल कर्ण, ११ का रामचन्द्र साह, १२ का शत्रुधन यादव, १३ का शुुभनारायण मण्डल, १५ का अशोककुमार चौधरी, १६ का रामाशिष पजियार, २० का भोगेन्द्र झा र २४ का सत्यनारायण साह छन् ।
हस्ताक्षर गर्नुबाहेक विकासको काम हुन सकेन : वडाध्यक्ष
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले वडा कार्यालयमा सिलिङ बजेट विनियोजन गरेर पठाएका छन् । तर, कार्यालयमा पर्याप्त कर्मचारी व्यवस्थापन नगरेको ११ नम्बर वडाध्यक्ष रामचन्द्र साहले आरोप लगाए । बजेट आएको ६ महिना बितिसक्दा पनि जनताका दैनिक सानातिना काममा हस्ताक्षर गर्नुबाहेक विकासको काम गर्न नसकेको उनले बताए । ‘नगर प्रमुख साहले सम्पूर्ण अधिकार आफैं राखेर हामीलाई जनताको काम गर्न दिएनन्,’ उनले भने । नगर प्रमुख राजपाबाट निर्वाचित भएका हुन् । तर, विरोध गर्नेमा राजपाबाटै निर्वाचित ८ वडाध्यक्ष पनि छन् । कार्यालयमा कर्मचारीले नटेर्ने र उनीहरुले आफूखुसी काम गरिरहँदा जनप्रतिनिधिहरु भने भूमिकाविहीन भएर बस्नुपरेको वडाध्यक्षहरुको गुनासो छ ।
शिक्षकले भने ५१ किलोको मालाले स्वागत गरे
वडाध्यक्षहरु विरोधमा उत्रिरहँदा नगर प्रमुख लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकले भने ५१ किलोको माला पहिराएका छन् । जनकपुरधाम स्रोत केन्द्रमा प्रधानाध्यापकहरुको बैठकमा प्रमुख साहलाई ५१ किलोको मालाले स्वागत गरिएको हो ।

























