भारतमा भएको फुल कन्ट्याक्ट कराँतेमा नेपाललाई २ स्वर्णसहित ४ पदक
वि.सं.२०७५ पुस २६ बिहीवार १३:३४
shares

भारतमा हालै सम्पन्न भएको ओयामा च्यालेन्ज कप २०१९, इन्टरनेसनल फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित चारवटा पदक हात पारेको छ । जनवरी ४ देखि ६ तारिखसम्म भारतको मुर्ली वेस्ट बंगालमा भएको प्रतियोगितामा नेपालबाट सहभागी सातजना खेलाडीमध्ये चार जना पदक हात पार्न सफल भएको टिम प्रशिक्षक शिव गुरुङले जानकारी दिए ।
खुला तौल समूहतर्फ रुपक नेपाली र ५५ केजी तौल समूहमा रोमन सिन्जाली मगरले स्वर्ण पदक जितेका हुन् । त्यसैगरी, ५५ केजी तौल समूहमा कमल हिताङले रजत र ६५ केजी तौल समूहमा शिव हिताङले कास्य पदक जितेको उनले बताए । खेलाडीहरुको टोली पोखरा फर्किसकेको खेलाडी शंकर नेपालीले जनाए । टिमको व्यवस्थापन राम गुरुङले गरेका थिए ।
टोलीलाई पोखराबाट क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल स्ट्रोङ गेष्ट क्यो कुशिन कराँते संघ कास्की र नेपाल क्यो कुशिन काई काता कराँते संघ कास्कीले संयुक्त रुपमा बिदाइ गरेका थिए ।

























