हुसेनलाई गोली हानी हत्या गर्ने ३ जना पक्राउ
वि.सं.२०७५ पुस २७ शुक्रवार १३:३२
shares

दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा विहीबार पत्रकार सम्मेलन गरी फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई सार्वजनिक गरेको हो । फिदा हुसेनको हत्याको मुख्य योजनाकार मानिएका दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, हत्याको योजनामा संलग्न तथा सहयोगी ३१ वर्षीय मोहमद जाविर हुसेन र हत्यामा प्रयोग भएको हतियार लुकाउनका लागि सहयोग गरेका लक्ष्मीनारायण मन्दिरका पुजारी दुहबी नगरपालिका–१२ सीतापुर बस्ने विशम्वर यादवलाई पक्राउ गरी सार्वजनिक गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
मोहम्मद सकिम हुसेनलाई घर नजिकै हिँडिरहेका अवस्थामा पक्राउ गरिएको थियो र जाविर हुसेनलाई कोशी गाउँपालिका–८ भण्टाबारीबाट र लक्ष्मीनारायण मन्दिरका पुजारी यादवलाई घरबाट बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
त्यसैगरी हत्या गरेकोमध्ये एक जना मुसरी भने दुहबी नगरपालिका– ९ का २२ वर्षीय जफर मियाँलाई बाँकै प्रहरीको सहयोगमा पक्राउ गरी सुनसरी ल्याइरहेको सुनसरीका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेकाको बयानका आधारमा फिदाको हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, सोमा लाग्ने गोली दुई थान र डाइगर (चक्कु) एक थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि दुहबी नगरपालिका–१२ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नरिवलको बोट नजिक गाडेर राखेको अवस्थामा हतियार बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । हत्यामा संलग्न पक्राउपश्चात् बयानका क्रममा हत्या सुनियोजित र रिसइवीका साथै आर्थिक लेनदेनका कारण भएको खुलेको छ ।
पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीमा चार दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । हुसेनलाई मङ्सिर ५ गते बिहान प्रात भ्रमणका क्रममा जयबाबा इँटा उद्योग नजिकैको नहरको डिलमा गोली हानी हत्या गरिएको थियो ।(रासस)

























