चिडियाखाना : पोखराको नयाँ पर्यटकीय गन्तव्य
वि.सं.२०७५ पुस २९ आइतवार १९:०२
shares

पोखरामा हुने मेला र महोत्सवको भीडबाटै सुरु भएको पोखरा महोत्सवले ८ वर्षको अवधिमा पोखरेलीलाई नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निमार्ण गर्न सफल भएको छ ।
मिनी चिडियाखानाको रुपमा हाल विकसित भएको पर्यटकीय गन्तव्य चिडियाखाना आन्तरिक तथा बाह्य पर्यटकहरुको आकषर्णको केन्द्र बन्दैछ । विभिन्न संघ संस्थाहरुले मेला वा महोत्सव गर्दै आए पनि पोखरा युनाईटेड क्लबको जस्तो अभियानमा हालसम्म कुनै संघ संस्थाको सक्रियता नदेखिँदा क्लबको प्रयासमै हाल मिनि चिडियाखानमा केही वन्यजन्तु तथा पशुपंक्षी देख्न पाइन्छ ।
वि.सं. २०६७ सालमा स्थापना भएको क्लबले स्थापनाकालदेखि सञ्चालन गरेको पोखरा महोत्सवबाट बचत भएको केही रकम पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा रहेको पचभैया चापापानी, चिसाकुना र चैनपुरको सामुदायिक वन क्षेत्रमा १ सय ३४ हेक्टर क्षेत्रफल जमिनमा चिडियाखानाको अभियान सुरु गरेको थियो ।

हालसम्म क्लबले महोत्सवबाट ४५ लाख ८५ हजार लगानी गरीसकेको छ भने त्यसै गरी साविक लेखनाथ नगरपालिकाबाट १० लाख, जिल्ला वन कार्यालयबाट २४ लाख सहित जनश्रमदान गर्दा करिब एक करोड बराबरको भौतिक संरचना निमार्ण कार्य भएको क्लबका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजीकल पार्कका अध्यक्ष हिमालय बख्रेलले बताए ।
बख्रेलका अनुसार चिडियाखानामा हाल पशुपंक्षीको उद्धार केन्द्रको लागि भवन निमार्ण, पार्किङ सहित चिडियाखाना रेखदेखको लागि कार्यालय स्थापना, खानेपानी जडान, यातयात सहजको लागि बाटो निमार्ण, मृगस्थली, बाघ राख्ने खोर निमार्ण, ९ वटा क्रेज समेत निमार्ण भएको छ ।
मिनि चिडियाखानाको रुपमा हाल विकसित भएको उक्त चिडियाखानामा अजिंगर, लाटोकेशरो (उल्लु), चित्तल मृग, निल गाई, चिल, इजिप्सन गिद्ध, हुचिल, रतुवा मृग, जंगली विरालो, स्याल, मदारी वाँदर, खरायो, कछुवा, सिवेट लगायतका वन्यजन्तु तथा पशुपंक्षी रहेको बख्रेलले जानकारी दिए । अधिकाशं वन्यजन्तु तथा पशुपंक्षी रेस्क्यू गरी त्यहाँ व्यवस्थापन गरिएको उनले बताए ।

क्लबको अभियानलाई पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने उद्धेश्यले गण्डकी प्रदेश सरकारले समेत ३ करोड आर्थिक सहयोग गर्ने भएको छ । उक्त जुलोजीकल पार्कको डि.पि.आर.को लागि गण्डकी प्रदशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक करोड ५० लाख विनियोजन गरेको छ भने थप एक करोड ५० लाख थप संरचनाको लागि रकम विनियोजन गरेको क्लबले जानकारी दिएको छ ।
पुष २७ देखि माघ ८ गतेसम्म पोखराको अम्मरसिंहको खेल मैदानमा सञ्चालन भइरहेको नवौं पोखरा महोत्सवको अवसरमा क्लबले निःशुल्क बस सेवाबाट चिडियाखाना अबलोकनको व्यवस्था समेत मिलाएकों क्लबका अध्यक्ष लालकाजी गुरुङले बताए ।
आफूहरुले हालसम्म के कस्तो काम गरेको छ भनी आम जनतालाई जानकारी गराउने उद्धेश्यले हरेक दिन फस्टकम फस्ट सर्भिसको आधारमा एउटा बसले दिनमा दुई पटक लैजाने तथा ल्याउने व्यवस्था मिलाएको प्रथम उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । उक्त बसमा समेत विभिन्न वन्यजन्तु तथा पशुपंक्षीको तस्बिरसहित पोखरा महोत्सव भनी बस भरी नै पोष्टरिङ गरिएको छ । साथै बसभित्र जुलोजीकल पार्कको बारेमा समेत जानकारी भिडियो सहित प्रदर्शन गरिने भएको छ ।
क्लबको अभियानलाई सफल पार्न पचभैया होमस्टेले आगन्तुक चिडियाखाना अवालोकन गर्ने पर्यटकहरुलाई स्वागत गर्ने भएको जुलोजीकल पार्कका सचिव एवं स्थानीय होटल व्यवसायी दामुदारभक्त थापाले बताए ।


























