काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ठूला अस्पतालसँग नै छैनन् एम्बुलेन्स

15.12K
shares

प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’विहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ ।

एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए ।

निजी एम्बुलेन्सले महङ्गो शूल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही दधिराम केसीले बताए । एम्बुलेन्स चलाउनका एकजना चालकको दरबन्दी रहेपनि अहिले रिक्त छ ।

त्यस्तै घोराहीको हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविकको राप्ती उपक्षेत्रीय अस्पताल) मा १० वर्षदेखि बिग्रिएको एम्बुलेन्स मर्मत हुनसकेको छैन् । पटक/पटक बिग्रिने र मर्मत गर्दा धेरै खर्च हुने भएकाले मर्मत नगरी त्यतिकै थन्काइने गरिएको छ ।

एम्बुलेन्सविहीन अस्पताल प्रदेश सरकारको पर्खाइमा छ । प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा दुई/दुई एम्बुलेन्स उपलब्ध गराउने भनी बजेट ल्याएको भन्दै त्यसकै पर्खाइमा रहेको अञ्चल अस्पतालका सूचना अधिकारी सुवेदीले बताए ।

दाङका सातवटा एम्बुलेन्स प्रयोगविहीन रहेका छन् । दाङमा सञ्चालनमा आएका ६२ वटा एम्बुलेन्समध्ये अहिले ५५ वटा एम्बुलेन्स मात्रै सञ्चालनमा छन् । राप्ती अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइन्स क्लब आफ तुलसीपुर, घोराही उद्योग वाणिज्य सङ्घ र होटल व्यवसाय समिति घोराहीलगायतका सातवटा एम्बुलेन्स बिग्रिएर प्रयोगबिहीन अवस्थामा रहेको संयुक्त एम्बुलेन्स चालक सङ्घ दाङका अध्यक्ष इन्द्रबहादुर केसीले जानकारी दिए ।

ती एम्बुलेन्स मर्मत गर्न कुनै पनि निकायले ध्यान नदिएको गुनासो समेत उनले गरे । दाङमा एम्बुलेन्स थपिने क्रम जारी भए पनि प्रभावकारी सेवा प्रदान गर्न नसकेको स्वीकार उनको भनाइ छ । बिरामी बोक्ने सरकारी अस्पतालका एम्बुलेन्स समेत मर्मत गर्नतर्फ ध्यान नदिनु दुःखद भएको समेत उनको भनाइ छ ।

दाङमा सघन उपचार कक्षसहितको एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलोपटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । हस्पिटलका बालरोग विषेशज्ञ डा. किशोर खत्रीका अनुसार सघन उपचार कक्ष, भेन्टिलेटर, काड्रियोक, सक्सन, नेबुलाइजर, इसिजीलगायत बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

यसमा अन्य एम्बुलेन्सभन्दा सेवा र सुविधा बढी भएको उनको भनाइ छ । अब गम्भीर घाइते र बिरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पुर्याउन सहयोग पुग्ने उनको भनाइ छ । (रासस)