प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित
वि.सं.२०८३ मंसिर ६ आइतवार १२:३३
shares

पर्सा । समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–२३ स्थित प्रसौनी बिर्तामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३४६ जना लाभान्वित भएका छन् ।
समुदायमा स्वास्थ्य सचेतना बढाउने तथा सामाजिक उत्तरदायित्व प्रवद्र्धन पनि गर्ने उद्देश्यले ‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा आयोजित कार्यक्रममा उनिहरुले स्वास्थ्य सेवा प्राप्त गरेका हुन ।
सशस्त्र प्रहरी बल पर्साद्वारा नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, म्याग्नस फार्मा प्रालि र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा आयोजित बालरोग, नेत्ररोग, स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी, छाला रोगको उपचारसम्बन्धी सेवा प्रदान गरिएको थियो ।
शिविरमा चिकित्सकले सेवाग्राहीको स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेका थिए । सो अवसरमा समुदायमा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि तथा मानवीय सेवामा समुदायको सहभागिता बढाउने उद्देश्यले रक्तदान कार्यक्रम पनि आयोजना गरियो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष सावित्राकुमारी जैसीले सङ्घले विभिन्न सङ्घसंस्थासगको सहकार्यमा सामाजिक सेवामूलक अभियानमा सञ्चालन गर्दै आएको जानकारी दिइन ।

























