जनता बैंकले सेयर ब्रोकरको काम गर्ने, मर्जरको विकल्प खुला
वि.सं.२०७५ माघ १ मंगलवार १४:२७
shares

जनता बैंक नेपालको वार्षिक साधारणसभाले सेयर धनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैंकको आइतबार सम्पन्न नवौं साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित नाफासमेतको रकमबाट शेयरधनीलाई ६८ करोड ६६ हजार ८०३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई स्वीकृत गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझी लगायतको उपस्थिति रहेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै सञ्चालक समितिस्तरीय लेखापरीक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०७५÷०७६ का लागि बाह्य लेखा परीक्षकमा एसएआर एसोसिएट्स, चार्टड एकाउन्टेन्स नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैंक आफैं वा सहायक कम्पनीमार्फत सेयर ब्रोकरेजसम्बन्धी कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैंक र अन्य उपयुक्त बैंक र वित्तीय संस्था एक–आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

























