चूणामणि शर्माको मुद्दा जटिल, अदालतले माग्यो एमिकस क्युरी
वि.सं.२०७५ माघ १ मंगलवार १४:३६
shares

विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दा जटिल र विशेष प्रकृतिको देखिएको भन्दै अदालतलाई सुझाव दिने विज्ञ (एमिकस क्युरी) झिकाउन आदेश दिएको छ । अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले नेपाल बार एसोसिएसनबाट एमिकस क्युरी झिकाउने आदेश दिएको अदालतका रजिष्ट्रार भीमप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार जटिल र विशेष खालका मुद्दामा एमिकस क्युरी झिकाउने प्रचलनअनुसार अदालतबाट यस्तो आदेश भएको हो । अब शर्माको भ्रष्टाचार मुद्दाका विषयमा विशेष राय दिन तीनजना विज्ञ अधिवक्ता नेपाल बारले पठाउनुपर्नेछ ।
कर निर्धारणमा अनियमितता गरेको भन्दै शर्मालाई ०७४ जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राएको थियो । अख्तियारले डेढ महिना लामो अनुसन्धानपछि साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा आयोगका पदाधिकारीविरुद्ध १० अर्ब दुई करोड बिगो दाबी गरियो । उक्त मुद्दा यथास्थितिमा राख्न सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेश दियो । साउन १७ गते बृहत् पूर्ण इजलासले उनलाई अख्तियारको हिरासतबाट न्यायिक हिरासतमा पठाएको थियो ।
शर्मा पत्नी यो विषय विशेष अदालतको क्षेत्राधिकारभित्र नपर्ने बताउँदै सर्वाेच्च गएकी थिइन् । त्यसपछि सर्वाेच्चले यो आफनो क्षेत्राधिकारभित्र भए÷नभएको टुंगो लगाउने जिम्मा विशेषलाई नै दिएको हो ।
शर्माले कर फछ्र्योट आयोगमा हुँदा विभिन्न व्यापारीलाई २१ अर्ब रुपैयाँ कर मिनाहा दिएको, एनसेलको स्वामित्व बिक्री गर्दा करिब ३३ अर्ब पुँजीगत लाभकर छुट दिन भूमिका खेलेको, अकुत सम्पत्ति जोडेको, सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्यासको ‘फुटरिङ’ र ‘नेकरिङ’ मुद्दामा उद्योगी शिवप्रसाद घिमिरेलाई उन्मुक्ति दिएकोलगायत आरोप छ ।

























