हिमालयन बैंकको १५ प्रतिशत लाभांश पारित
वि.सं.२०७५ माघ १ मंगलवार १४:५१
shares

हिमालयन बैंकको छब्बीसौं वार्षिक साधारणसभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने जानकारी अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिए ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सिर्जनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको बताए ।
उनले २६ वर्षदेखि सेवारत हिमालयन बैंक नेपालको वित्तीय क्षेत्रको अग्रणीमध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ प्रणालीको विकास गर्दै जनताको विश्वासअनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदाझैं प्रतिबद्ध रहेको उनको भनाइ छ ।
बैंकले आव २०७४/७५ को अन्त्यसम्ममा ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो ।
साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद १ मा विजयबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । बैंकले यो वर्ष ६ नयाँ शाखाको र एटिएम काउन्टर सञ्चालनमा ल्याउने जारी विज्ञप्तिमा उल्लेख छ ।

























