सावधान, सिमेन्टले हुनसक्छ क्यान्सर !
वि.सं.२०७५ माघ २ बुधवार २०:२८
shares

के तपाईंले सिमेन्ट चलाइसकेपछि छाला फुट्ने, चिलाउने समस्या झेल्नुभएको छ र यसलाई सामान्य समस्या मान्नु भएको छ भने सावधान! त्यही सिमेन्टका कारण तपाईंलाई छालाको क्यान्सरसमेत हुनसक्छ, किनकी सिमेन्टमा अत्याधिक हानिकारक रसायनहरू मिसाइएको पाइएको छ ।
भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले गरेको एक अध्ययनअनुसार सिमेन्टमा ‘हेक्जावलेन्ट क्रोमियम’ लगायतका घातक रसायन (केमिकल) पाइएको छ । स्वीडेनको लुइन्ट विश्वविद्यालयसँग मिलेर एम्सको डिपार्टमेन्ट अफ डर्मिटोलोजी एन्ड वेनेरोलोजीद्वारा गरिएको उक्त अध्ययनअनुसार यी हानिकारण्क रसायनहरूका अत्याधिक प्रयोगका कारण छाला चिलाएर घाउ हुने (डर्माटाइटिस), दाद, छालामा चिलाउने राता फोका निस्कनेलगायतका छालाजन्य रोगहरू उत्पन्न हुने निष्कर्ष निकालिएको छ ।
एम्स डिपार्टमेन्ट अफ डर्मिटोलोजी एन्ड वेनेरोलोजीका प्राध्यापक डा. कौशल बर्माले भारतको निर्माण उद्योगमा काम गर्ने मजुदरहरूमा छालाको एलर्जीजन्य ठूलो समस्या पाइन थालिएपछि भारतीय बजारमा उपलब्ध ७–८ सिमेन्टका नमुना संकलन गरेर अध्ययन गरिएको जानकारी दिए । उनका अनुसार छालाको एलर्जीका मुख्य कारण पोटासियम डिक्रोमेट भएको निष्कर्ष निकालिएको छ, जुन सबै सिमेन्टमा पाइएको छ ।
सिमेन्टको अत्यधिक सम्पर्कमा रहने कामदारहरूमा सुरुवाती चरणमा छाला सुक्खा हुने तथा चिलाउने समस्या देखापर्ने गरेको छ, पछि त्यो चिलाउने क्रम बढ्दै गएर ठूलो एलर्जीको रुपमा परिणत हुन्छ र समयमै उपचार नपाए त्यही एलर्जी क्यान्सरमा समेत परिणत हुनसक्छ ।
निर्माण क्षेत्रका मजदूरहरूमा स्वास्थ्यसम्बन्धी सचेतना कम भएका कारण उनीहरूले यस्तो एलर्जी र त्यसपछिको बढ्दा छालाजन्य रोगका संक्रमणबारे ध्यान नदिने गरेको डा. बर्माले आईएएनएस समाचार संस्थालाई बताएका छन् । ‘एम्समा यसरी छालाको संक्रमण भएका धेरै मजदूरहरू त्यतिखेर मात्र आउने गरेका छन्, जतिखेर स्थिति निकै गम्भीर अवस्थामा पुगेर तिनीहरूको छालाको धेरै हिस्सा बिग्रिसकेको हुन्छ,’ बर्माले भने, ‘औसतमा दुई वर्षसम्म यसरी छालाको समस्या बेवास्ता गरेर आउनेहरूको संख्या ठूलो छ ।’
अध्ययनअनुसार सुक्खा सिमेन्टको तुलनामा भिजाइएको सिमेन्ट बढी हानिकारक हुने गरेको अध्ययनले पत्ता लगाएको छ भने हात, खुट्टा, गर्दन र अनुहारसहित सिमेन्टको सम्पर्क हुने स्थानमा छालाको एलर्जी हुने गरेको छ । ‘छालाको एलर्जी यदि प्रारम्भिक चरणमै छ भने कोर्टिकोस्टेरोइड वर्गका औषधि, एन्टी एलर्जी ट्याबलेट, क्रिम, मल्हम र लोशन लगाएर दुईदेखि चार हप्तामै ठिक गर्न सकिन्छ,’ डा. बर्माले भने ।
छालाको एलर्जीजन्य समस्या बढेपछि ‘प्याच टेस्ट’ गर्नुपर्ने हुन्छ, जुन नेपालका धेरै अस्पतालमा उपलब्ध छैन, यसका लागि एक हप्तासम्म अस्पतालको चक्कर लगाउनु पर्ने हुन्छ । भारतमा यस्तो परीक्षणका लागि झन्डै १० हजार भारु (करिब १६ हजार रुपैयाँ नेपाली) खर्च गर्नुपर्ने हुन्छ । एम्ससहितका भारतीय सरकारी अस्पतालहरूमा भने यस्तो परीक्षण निःशुल्क छ ।

























