कांग्रेसलाई सुदृढ बनाउन नेतृत्व परिवर्तन गर्नैपर्छ : डा. महत
वि.सं.२०७५ माघ २ बुधवार २०:५५
shares

कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले पार्टी नेतृत्व परिवर्तनको मुद्दा आन्तरिक रुपमा पेचिलो बन्दै गएको बताएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा डा. महतले नेतृत्व परिवर्तनबिना पार्टी सुदृढीकरण हुनै नसक्ने दाबी पनि गरे । ‘पार्टी गुटहरुको अखडाजस्तै बनेको छ, नेतृत्वबाट गुट सञ्चालित छन्,’ उनले भने, ‘यस्तो प्रवृत्तिलाई मौलाउन नदिन पार्टीको नेतृत्व बदल्नुपर्छ भन्ने मत पार्टीभित्र बलियो बनेको छ ।’
सरकारको कार्यसम्पादन हचुवाका भरमा चलिरहेको उनले टिप्पणी गरे । ‘जनतालाई ठूल्ठूला सपना देखाएको सरकारका योजनाहरु अवैज्ञानिक र हावादारी छन्,’ उनले भने, ‘अहिलेसम्म भएको विकास राजनीतिक नीतिका कारण भएको हो, कम्युनिस्टले विकास गर्दैनन् ।’
सडकको दूरावस्था भुलेर सरकारले पानी जहाज र रेलको कुरा गर्नु असान्दर्भिक भएको उनको भनाइ छ । ‘विकासका लागि सबै ठाउँमा वर्षभरी मोटर गुड्ने सडक चाहिन्छ,’ डा. महतले भने, ‘सडक निर्माणका लागि आवश्यक काम गर्न नसकेको सरकारले रेल र पानी जहाज ल्याउने सपना बाँडिरहेको छ ।’
कर्णाली प्रदेशको समृद्धि र बिकासका लागि कृषि र पर्यटन बिकास जरुरी भएको डा. महतले बताए । कर्णालीमा बिकासका प्रयाप्त सम्भावनाहरु भएको भन्दै तीनिहरुको सदुपयोगले कर्णाली समृद्ध बनाउन सकिने उनको भनाई छ । ‘कर्णाली आफैँमा एक समृद्ध प्रदेश हो’ उनले भन, ‘यसका सम्भावनाहरु पहिचान गरी यसको सदुपयोग अबको आवश्यकता हो ।’ कर्णाली बिकासका लागि कृषिमा आधुनिकीकरण, पर्यटन बिकास र जलस्रोतको उपयोग गरिनु पर्नेमा जोड दिए ।

























