नेपाल चेम्बर र भारतीय ट्रेड प्रोमोसन काउन्सिलबीच सहकार्य
वि.सं.२०७५ माघ २ बुधवार २१:५४
shares

नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच दुई–पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ दिल्लीमा भएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरित समझदारी पत्रमा नेपाल र भारतबीचको ब्यापारलाई दुई–देशको हितमा हुने गरि प्रबद्र्धन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार,वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदान–प्रदानका बिषय समेटिएका छन् ।
यसैगरी ‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन द्विपक्षीय व्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदान, अन्तर्राष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका विषय पनि समझदारी पत्रमा समेटिएको चेम्बरले जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार र बहु–पक्षीय सम्बन्धलाई विस्तार गर्ने उद्देश्यअनुरुप हालसम्म विभिन्न देशका ६६ वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

























