कालोधनको कनेक्सन
वि.सं.२०७५ माघ ३ बिहीवार १९:५४
shares

पञ्चायलकालदेखि नै नेपालीहरूले यहाँबाट सम्पत्ति लगेर स्विट्जरल्यान्डमा जम्मा गरेको हल्ला चल्ने गरे पनि अहिले आएर त्यसको पुष्टि भएको छ । २०२७÷२८ सालतिर स्व. राजा महेन्द्रले गोप्य रुपमा ८० किलो सुन स्विस बैंकमा जम्मा गरेको कानेखुसी चल्ने गरेको थियो भने २०४६ सालताका तत्कालीन रानी ऐश्वर्यले पम्फादेवीको नाममा अकुत सम्पत्ति स्विस बैंकमा जम्मा गरेको विषय उठान गरिएको थियो । २०४७ सालको चुनावमा तत्कालीन राजपरिवारले विदेशमा लगेर राखेको धन फिर्ता ल्याउने एजेन्डा पनि व्यापक रूपमा चुनावी मुद्दा नै बनेको थियो । तर, यो २९ वर्षमा न स्विट्जरल्यान्डबाट एक पैसा धन फिर्ता आयो न त त्यसयता कुनै चालचुल नै सुनियो, बरु उल्टै २०६२÷६२ को जनआन्दोलनपछि तत्कालीन सशस्त्र द्वन्द्वका नाइकेहरूले यताबाट धन लगेर विदेशका बैंकहरूमा थुपारेको नयाँ हल्ला चल्न थाले । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जालसँगको सहकार्यमा खोज पत्रकारिता केन्द्रले बुधबार सार्वजनिक गरेको नेपालिक्सले यी नेताहरूको कालोधनको सोझै त खुलासा गरेको छैन तर तिनीहरूसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध रहेको भनिएका व्यवसायीहरूको नाम उल्लेख हुनुले काग कराउनु र कुखुरा हराउनुबीचको सम्बन्ध खुलासा नै गरिदिएको छ ।
नेपालमा गैरआवासीय नेपाली अभियान भनेर निकै लामो समयदेखि क्याम्पेनिङ गर्दै आएका बेलारुसयिन व्यापारी उपेन्द्र महतो अदृष्य सम्पत्तिका ओसारपसार र त्यसलाई कालोबाट सेतो बनाउने चक्रका मुख्य भूमिकाकर्ताका रूपमा देखिन्छन्, जसले सुरुमा एनसेलमा विदेशबाट अफसोर कम्पनीमार्फत लगानी गरेको देखाएर अर्बौंको रकम चोखो बनाउने प्रयास गरे । उनकै संसर्गमा लागेर वा उनैबाट दीक्षित भई हेटौंडाका व्यापारी अजय सुमार्गी पनि अर्बौंको अदृष्य सम्पत्तिलाई धुल्याएर यहाँ भित्र्याउने प्रक्रियामा संलग्न भएको देखियो । सबैभन्दा ख्याल गर्नुपर्ने तथ्य के छ भने यी दुवै अफसोर सम्पत्तिका मालिकहरूको तत्कालीन माओवादीका शीर्षस्थ नेताहरूसँग नजिकको सम्बन्ध देखिन्छ । सुमार्गीकी जेठीसासु शिशु अर्यालका नाममा ०६८ साउन १३ गते रातारात ११ करोड रुपैयाँमा नवलकिशोर अग्रवाल नामका व्यापारीबाट किनेको घरमा झन्डै तीन महिनाको रंगरोगन, मर्मतसम्भार र केही स्टाफ क्वार्टरसमेत बनाउन लगाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही वर्षको माघ ५ गतेदेखि बस्न पुगेका थिए, जुन बेला प्रचण्ड लाजिम्पाटस्थित निवासमा सरे, त्यसबेला सुमार्गीसँग उनको उठबस निकै बाक्लो थियो । हेटौंडामा सामान्य व्यावसायिक हैसियत भएका सुमार्गीले कसरी–कुन चक्रबाट अदृष्य सम्पत्ति नेपाल भित्र्याए भन्ने विषयमा नेपालिक्सले प्रस्ट खुलासा गरिदिएको छ ।
सम्पत्ति शुद्धीकरणको यो शृंखलामा विश्व–खर्बपति विनोद चौधरीका माइला भाइ अरुण चौधरी र उनको परिवार पनि पर्छ । ध्यान दिनुपर्ने कुरा के हो भने विनोद चौधरीले पूरै परिवार अर्थात् चौधरी ग्रुपका तीनै जना दाजुभाइको सम्पत्तिलाई एकीकृत गणना गराएर आफू फोब्र्सको सूचीमा देखिँदै आएका छन् । त्यसैले यो अफसोर सूचीमा फोब्र्स अर्बपति विनोद चौधरी पनि अप्रत्यक्ष रुपमा गाँसिएकै देखिन्छन् ।
यस्तै, जगदम्बा स्टिल कम्पनी चलाउने सौरभ ग्रुपका विष्णुप्रसाद न्यौपाने, सुलभ अग्रवाल, भर्खरै ठमेलमा पोखरी मिचेर छायाँ सेन्टर नामक व्यापारिक कम्प्लेक्स बनाउने राजेन्द्र बजगाईंसहित ५५ जना नेपालीले स्विस बैंकमा पैसा जम्मा गरेको खोज पत्रकारिता केन्द्रको अध्ययनबाट देखिएको छ । घोराही सिमेन्ट, केपी सिमेन्टलगायतका सिमेन्ट उद्योगहरूमा अफसोर कम्पनीमार्फत अदृष्य धन, प्रत्यक्ष वैदेशिक लगानीका रूपमा भित्र्याइएको पत्ता लागेको छ । यी औपचारिक रूपमा अगाडि आएका यी ५५ जना त केबल एउटा तप्कामात्रै हुन्, यिनको जरा समाउँदै जाने हो भने नेपालमा अदृष्य कालोधनको चलखेल गर्ने थुप्रै अरु अर्बपतिहरू सतहमा आउनेछन् ।
नेपालले सम्पत्ति शुद्धीकरण रोक्नेसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा हस्ताक्षर गरिसकेको छ र यहाँ सम्पत्ति शुद्धीकरणविरुद्धको कानुन पनि कार्यान्वयन गरिरहेको छ । यस्तो अवस्थामा नेपालिक्सले सार्वजनिक गरेका अनुसन्धान प्रतिवेदनका आधारमा कालोधन शुद्धीकरणविरुद्धको अभियान चाल्न वर्तमान सरकारले सक्छ कि सक्दैन ? भन्ने आम जनचासो बढ्दै गएको छ ।

























