हरेक दिन सरकार एक कदम अघि बढेको छ : प्रधानमन्त्री
वि.सं.२०७५ माघ ६ आइतवार ०४:०१
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका कांग्रेसका पूर्वसांसद तीर्थराज भूसाललाई शनिबार पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले सरकार हरेक दिन नयाँनयाँ काम गर्दै अघि बढेको दाबी गरे ।
‘मुलुकले नयाँनयाँ उपलब्धि हासिल गरेको छ,’ उनले भने, ‘विकास निर्माणका कामले तीव्रता पाएको छ, भौतिक संरचना धमाधम बन्न थालेका छन् ।’
देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उनले मुलुकलाई छिट्टै समृद्ध बनाउनु आफ्नो पार्टीको सङ्कल्प भएको बताए । सरकारले अग्रगामी नीति लिएको दोहोर्याउँदै उनले भने, ‘ती परिणामले देखाएका छन्, झुठ्ठा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन, उपलब्धि थप बलियो बनेर आउँछ ।’
नेपाल सबैभन्दा तीव्र आर्थिक वृद्धिदर भएको मुलुकका रुपमा देखिन लागेकामा अचम्म नमान्न अनुरोध गर्दै प्रधानमन्त्रीले सरकार तीव्र आर्थिक विकास गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ अघि बढेको दावी गरे ।
उनले भने, ‘नेपाली जनताको प्रतिव्यक्ति आयमा बढोत्तरी आएको छ । ८५० डलर प्राप्त गर्ने नागरिकले अब एक हजार डलर पाउन थालेका छन् । हामी आँकडामा खेल्ने होइन, परिणाम दिने गरी अघि बढेका छौं । नेकपा आँकडामा परिवर्तन गर्ने पार्टी हो ।’
सरकार गठन भएको एक वर्षको अवधिमा कानून निर्माण तथा संरचनाको व्यवस्थापन गर्दा विकास निर्माणमा केही सुस्तता देखिएको स्वीकार गर्दै उनले अब मुलुकको विकासले गति लिने दाबी गरे । उनले भने, ‘विकास र समृद्धिले तीव्र गति लिन्छ, असाधारण तबरबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गरिन्छ । सरकार सुशासन र विकासमा केन्द्रित भएको छ ।’
पार्टी एकता भएको लामो समय बितिसक्दासमेत यसले पूर्णता नपाएको यथार्थ दुवै अध्यक्षले महसुस गरेको बताउँदै उनले अबको केही दिनभित्रै पार्टी एकताले अन्तिम रुप पाउने विश्वास व्यक्त गरे ।
नेकपाप्रति जनता, राजनीतिक कार्यकर्ता र सचेत नागरिकको विश्वास बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेकपाले देशलाई समृद्धिमा लैजान्छ, हामी कसैका विरुद्ध एक शब्द पनि बोल्दैनौं, झुट बोल्दैनौं, आरोप पनि लगाउँदैनौ र सही कुरा आवश्यक मात्रामा भन्छौं । त्यसैले त नेकपाप्रति विश्वास बढ्दो छ ।’

























