करेन्ट लागेर २ जनाको मृत्यु भएको विरोधमा विद्युत कार्यालय घेराउ
वि.सं.२०७५ माघ ६ आइतवार २३:२७
shares

नेपाल विद्युत् प्रधिकरणको लापर्वाहीले शनिबार जनकपुरमा २ जनाको करेन्ट लागेर मृत्यु भएको भन्दै स्थानियले जनकपुर वितरण केन्द्रको कार्यालय घेराउ गरेका छन ।
जनकपुर उपमहानगरपालिका–१२ कुवाँरामपुरमा शनिबार बेलुका ११ हजार भोल्टको करेन्ट प्रवाह भएको पोलको अर्थिङका लागि जमिनमा गाडिएको तारबाट करेन्ट लागेर दुई जनाको मृत्यु भएको थियो । प्राधिकरण कर्मचारीको लापर्वाहीले घटना भएको भन्दै आइतबार स्थानीयले कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् ।
स्थानीय ब्रम्हदेव यादवका अनुसार तीन दिनदेखि विजुलीको तार सट भइरहे पनि प्राधिकरणका कर्मचारीले वेवास्था गर्दै आएको बताएका छन् । स्थानीयले लापर्वाही गर्ने कर्मचारीलाई कारबाही, क्षतिपूर्ति, मृतककी श्रीमतीलाई रोजगारी र बच्चालाई निःशुल्क पढाइको व्यवस्थालगायतका माग राखेका छन् ।
शनिबार खेततिर जाने धुलाम्य सडकमा चिप्लिएर मोटरसाइकलमा सवार मिथिला विहारी नगरपालिका–९ मिथिलेश्वरमौवाहीका २८ वर्षीय प्रमेश्वर मण्डल नजिकैको बिजुलीको पोलमा उछिटिएर पुगेका थिए । उनलाई उठाउन गएका सिरहा विष्णपुरा गाउँपालिका–४ का ३२ वर्षीय जगरनाथ साहलाई समेत करेन्ट लागेको थियो ।
दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

























