झापामा चीनले बनाउँदैछ विशाल औद्योगिक पार्क
वि.सं.२०७५ माघ ६ आइतवार २३:००
shares

झापामा नेपालकै पहिलो विशाल औद्योगिक पार्क बन्ने भएको छ । यो औद्योगिक पार्कका लागि चीनले ३ खर्ब ३३ अर्ब रूपैयाँ खर्च गर्दैछ । झापामा बन्ने औद्योगिक ग्राम सम्पूर्ण उद्योग व्यवस्थापन सहितको पहिलो औद्योगिक ग्राम बनाउने सरकारको योजना छ ।
चीनले दमकमा निर्माण गरिदिन लागेको हरित पार्क सहितको औद्योगिक क्षेत्र चीनको वान वेल्ट वान रोड योजनाअन्तर्गत हो । नेपालले चीनले अगाडि सारेको वान वेल्ट वान रोड इनिसिएटिव (बीआरआई) मा हस्ताक्षर गरिसकेकोले झापामा औद्योगिक पार्क निर्माणका लागि नेपाल सरकारले सहमति जुटाइसकेको छ ।
उक्त औद्योगिक पार्कका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भईरहेको छ । झापाको दमक नगरपालिका वडा नं. १० र कमल गाउँपालिकामा चीनले ३ सय ३३ अर्बको लगानीमा चीन नेपाल यु.ई. इण्डष्ट्रियल पार्क निर्माण गरिदिने सम्झौता यसअघि नै भएको थियो ।
नेपाल सरकारबाट औद्योगिक पार्कको डीपीआरको प्रतिवेदन पास भएसँगै आगामी मे महिनाबाट पार्कको आवश्यक निर्माण थालिने भएको हो । प्रारम्भिक चरणको डीपीआर तयार भएसँगै चिनियाँ पक्षले कामलाई अगाडि बढाएको हो । गत पुस १३ गते यही प्रयोजनका लागि चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारी तथा उपसचिव लिउ रुपेङ्गको नेतृत्वमा ९ सदस्यीय टोलीले औद्योगिक पार्क निर्माण स्थलको स्थलगत अध्ययन गरेर फर्किइसकेको छ ।
रतुवाधारको २३ सय विगाहा उकासमा औद्योगिक पार्क निर्माण गरिने र थप जग्गाको लागि सर्वसधारणको जग्गा अधिग्रहणको प्रक्रिया समेत शुरु गरिसकिएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए । जग्गा अधिग्रहण प्रयोजनका लागि औैद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ५ करोड रुपैयाँ निकासा समेत दिइसकेको दाहालले बताए ।
झापाका प्रमुख जिल्ला अकिारीको संयोजकत्वमा जग्गा अधिग्रहण समिति गठन भएको र त्यसैले स्थानीयहरुसँग छलफल गरी लगत लिने र मुआब्जा वितरण गर्ने कार्यको थाली गरिसकेको छ ।
नेपाल चीन फ्रेन्डसीप इन्डिष्ट्रिजका अध्यक्ष गोविन्द थापाका अनुसार औद्योगिक ग्रामको लागि आवश्यक भौतिक संरचना निर्माणको काम त्यसपछि अघि बढ्ने छ, जसमा ग्राम निर्माण स्थलसम्म पुग्ने सडक, पार्कभित्र भित्री सडक निर्माण, विजुली बत्ती, धारापानी निर्माण, खोला तटबन्धनको काम एकैसाथ सुरु हुनेछ । जसका लागि बिजु्लीको शवस्टेशन निर्माण गरिने छ ।
अध्यक्ष थापाले आवश्यक बजेटको प्रबन्ध भइसकेकाले आगामी मे महिनाबाट पार्कको निर्माण प्रक्रिया थालिने बताए ।
निर्माण हुने औद्योगिक पार्कका लागि नेपाल सरकारले जमिन, सडक, पुल पुलेसाको व्यवस्था गर्नुपर्नेछ भने बाँकी सम्पूर्ण काम चिनियाँ पक्षबाटै हुने भएको छ । औद्योगिक क्षेत्रमा इलेक्ट्रोनिक , अटो मोवाइल्स, गार्मेन्ट, खाद्यान्न लगायतका दर्जनौ उद्योगहरु रहने छन् । पार्कभित्रै स्कुल, बैंक, हस्पिटल, सपिङ्ग मल समेत रहने छन् । उत्पादित सामानहरुको बजार चीन, नेपाल, भारत, बंगलादेश, म्यानमारसम्म रहने बताइएको छ ।

























