सांसदहरूलाई प्रभावित पार्न राष्ट्र बैंकको कक्टेल पार्टी
वि.सं.२०७५ माघ ६ आइतवार २३:४४
shares

अर्थमन्त्रीले राष्ट्र बैंकको भूमिका खुम्च्याउन थालेपछि राष्ट्र बैंकका अधिकारीहरूले संसदमार्फत आफ्नो भूमिका सक्रिय पार्न नयाँ ट्रिक निकालेका छन् । मिनी सांसद भनेर चिनिने अर्थसमितिमा रहेका सांसदहरुलाई राजधानीकै लक्जरी होटल, गोकर्ण फरेस्ट रिसोर्टमा लगेर रात्रि भोज र रातको बास समेत व्यवस्था गरेर गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो भूमिका सक्रिय पार्न खोजेका हुन् ।
आज साँझ गोकर्णमा कक्टेल, डिनरसहितको ‘रिट्रिट’ दिइँदैछ । ‘रिट्रिट’ का नाममा राष्ट्र बैंक उच्च ब्यवस्थापनले सांसदहरूलाई होटलमै राखेर यस्तो कार्यक्रम गरेको पहिलो पटक हो ।
राष्ट्र बैंकका तर्फबाट गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, विभागीय प्रमुखलगायत उच्च अधिकारीहरूले केन्द्रीय बैंकले के काम गर्छ? अहिले के भइरहेको छ? समस्या के छन्? लगायतका बारेमा अर्थ समितिका सांसदहरुलाई ‘पावरपोइन्ट प्रिजेन्टेसन’ दिने छन्।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल हुन्। सांसदहरुलाई आज साँझ र भोली विहान राष्ट्र बैंकका अधिकारीहरुले ब्यवहारिक र प्राविधिक पक्षका बारेमा जानकारी गराउने जनाइएको छ ।

























