काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हाइड्रो एक्स्पोः तीन दिनमा ६० हजारले गरे अवलोकन

8.84K
shares

राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सकिएको छ । तीन दिनमा ६० हजार बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा जारी एक्स्पोमा शुक्रबार १२ हजारले अवलोकन गरेका थिए । शनिबार २८ हजारले अवलोकन गरेकोमा एक्स्पोको अन्तिम दिन आइतबार २० हजार बढीले अवलोकन गरेका छन् ।

प्रदर्शनीमा जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको थियो । यसका साथै रोबो कम्पिटिसशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको आयोजकहरूले जानकारी दिए । एक्स्पोमा सहभागीहरूलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकनसमेत गराइएको थियो ।

शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको एक्स्पोमा दैनिक रुपमा विभिन्न सरकारी निकाय, सम्बद्ध पक्षका उच्च व्यक्तिहरुले अवलोकन गरेका थिए । यसै क्रममा आइतबार पूर्वऊर्जामन्त्री राधा ज्ञवालीका साथै संघीय संसदका सदस्यहरूले एक्स्पोको अवलोकन गरेका छन् ।

पहिलो संस्करणबाट दोस्रो संस्करणमा आइपुग्दा जलविद्युत क्षेत्रसँग सम्बद्ध व्यक्ति तथा संस्थाको उल्लेख्य सहभागिताले आगामी दिनहरुमा एक्स्पोलाई अझै परिष्कृत रुपमा आयोजना गरिने एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श उपलब्ध गराएका थिए । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रा. लि. ले गरेको हो ।

एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता थियो ।

विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य आकर्षण बनेका थिए ।