मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीको ठेक्का रद्द
वि.सं.२०७५ माघ ७ सोमवार ००:३१
shares

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का रद्द गरेको छ । ठेक्का रद्द भएसँगै इटालियन कम्पनीको धरौटीसमेत जफत गरिने भएको छ ।
कम्पनीले माग गरेको ३६ करोड रुपैयाँ क्षतिपूर्ति सरकारले नतिरेपछि आर्थिक संकटको बहानामा सीएमसीले पुस २ गते सरकारलाई बाँकी काम गर्न नसक्ने भन्दै पत्र पठाएको थियो । पुसदेखि नै आयोजनाको निर्माणको काम ठप्प छ । काम बन्द गर्दै सीएमसीका प्रतिनिधी इटाली जान लागेपछि खानेपानी मन्त्रालयले उनिहरुलाई रोकेको थियो । त्यसका बाबजुद नयाँ वर्ष मनाएर आउने शर्तमा मन्त्रालयले सीएमसीका प्रतिनिधिलाई इटाली जान दिएको थियो ।
काममा फर्किने सूचना नआएपछि कम्पनीलाई कारबाही गर्नेबारे अन्योल थियो । मेलम्ची आयोजनाका पदाधिकारीसँगको छलफलपछि मन्त्रालयले सीएमसीलाई हटाउने निर्णय गरेको बताइएको छ । मन्त्रालय र आयोजनाले ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेको जानकारी दिइसकेको मन्त्रालय स्रोतको भनाइ छ ।
सीएमसीसँग ठेक्का तोडिएपछि अब अर्को निर्माण कम्पनीलाई टेन्डर दिइने मन्त्रालयले जनाएको छ । योजना निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेका बेलामा कम्पनीले क्षतिपूर्तिको बखेडा झिकेको थियो ।

























