नेपालमा सुशासन र विकासले गति लिने विश्वास छ : राजदूत पिटर
वि.सं.२०७५ माघ ८ मंगलवार १३:५२
shares

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वर्डले नेपालमा संघीयता आएसँगै आमूल परिवर्तन भएको र संघीयताले पूर्णता पाओस् भन्ने अपेक्षा रहेको बताएका छन् । सुशासन र विकाससम्बन्धी दुईदिने पत्रकारिता तालिमको उद्घाटन गर्न जनकपुर आएका राजदूत पिटरले २० वर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएकोले वर्षौंदेखिका विकासको काम चाँडै पूरा हुने विश्वास व्यक्त गरे ।
‘विकास निर्माणका लागि जननिवार्चित प्रतिनिधि आइसकेकाले स्थानीय समस्या स्थानीयस्तरमै समाधान हुनेमा अपेक्षा छ,’ उनले भने, ‘यसले देशमा शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विकास हुनुका साथै सुशासनका कारण प्राकृतिक स्रोतको उजागर हुनेछ ।’
अष्ट्रेलियामा ११८ वर्ष लामो संघीयताको अभ्यास रहे पनि अझै समस्या रहेको भन्दै उनले नेपालमा चाँडै नै संघीयताले सफलता पाओस् भन्ने अपेक्षा गरेको बताए । देशमा सुशासन कायम रहे विकासले फड्को मार्ने बताउँदै उनले भने, ‘त्यसपछि जनताले शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति प्राप्त गर्नेछन् ।’
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीले देशमा संघीयता आएको भए पनि अहिलेसम्म जनताले आमूल परिर्वतनको प्रत्याभूति गर्न नसकेको बताए । ‘देशमा पहिले आदिवासि, जनजाति, उत्पीडित र पिछडिएको वर्गको उत्थानका लागि राजदरबारको ध्यान गएन, अहिले सिंहदरबारको समेत ध्यान गएन,’ उनले भने, ‘अहिले पनि दरबारियाहरु संघीयता फेल गराउन सक्रिय छन् ।’
देशमा दुईतिहाइको स्थायी सरकार भए पनि सुशासन र विकासले जे जसरी फड्को मार्नुपर्ने थियो, त्यसो नभएको उनको भनाइ छ । देशमा खनिज पदार्थ र जलस्रोतको सदुपयोग नहुन नसक्दा बेरोजगार युवा खाडी देशमा पलायन हुँदै आएकाले आफ्नै देशमा कृषि र जलस्रोतको सदुपयोग गर्दै तराई क्षेत्रमा औद्योगिक विकास गरिनुपर्नेमा जोड दिए ।
देशमा भ्रष्टाचार मौलाएको भए पनि सुशासन कायम गर्न सरकारले गठन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानातिना कर्मचारी कार्यालय सहयोगी, खरिदार र सुब्बालाई पक्राउ गरेर तर्साउँदै हिँडेको उनको भनाइ छ । ‘अख्तियारले कुनै ठूला हाकिम र मन्त्रीलाई कारबाही गर्न आँट राख्न सकेको छैन,’ उनको आरोप छ, ‘सुशासन कायम गर्न सकेमात्रै देशको विकास सम्भव छ ।’

























