गृहपृष्ठ हामी खुसी भए पो विदेशी लगानीकर्ता आउँछन् त- भवानी राणा
हामी खुसी भए पो विदेशी लगानीकर्ता आउँछन् त- भवानी राणा
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्वदेशी लगानीकर्ता सन्तुष्ट नभएसम्म विदेशी लगानी नआउने बताएकी छन् । उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि अध्यक्ष राणाले भनिन्, ‘विदेशी लगानीकर्ता भित्रिने पनि यहाँका स्वदेशी लगानीकर्ताकाे माध्यमबाट नै हो । यहाँका उद्यमी व्यवसायीहरु यहाँको वातावरणसँग सन्तुष्ट भए मात्रै उनीहरुले वैदेशिक लगानी र प्रविधि भित्र्याउन पहल गर्ने हुन् ।’ उनले आन्तरिक लगानी परिचालन नगरी विदेशी लगानी भित्र्याउन कठिन हुने पनि बताईन् ।
महासंघ अध्यक्ष राणाले सरकारकै कतिपय निकायले लगानीकर्तालाई निराश पार्ने खालका अभिव्यक्ति दिने गरेकोप्रति असन्तुष्टि जनाइन् । ‘अर्को मुलुकभित्र वर्षौंदेखि संचालित उद्यम व्यवसायका विषयमा सरकारका जिम्मेवार निकायबाट गैरजिम्मेवार अभिव्यक्तिहरु आउँदा स्थानीय तहमा व्यावसायिक अन्योेल बढ्नुका साथै व्यवसाय विस्तार गर्ने सोचमा रहेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्,’ उनले भनिन् ।
नेपालमा लगानीमैत्री कानुन भए पनि कार्यान्वय पक्ष अन्त्यन्तै कमजोर रहेको उनले बताइन् । ‘लगानीकर्ताले खोज्ने भनेको सम्बन्धित देशमा लगानीमैत्री नीति छ कि छैन, वातावरण कस्तो छ, लगानीकर्ताले के सुविधा पाउँछन्, लगानीको ग्यारेन्टी छ कि छैन । कानुन कार्यान्वयको अवस्था कस्तो छ भन्ने नै हो,’ राणाले भनिन्, ‘नेपालको समस्या भनेको नीति कानुन् राम्रो बन्छन् तर त्यसको कार्यान्वयन अत्यन्त फितलो हुँदा त्यसबाट लक्षित उपलब्धि हासिर हुन सक्दैनन् ।’ सरकारले कानुनमा सुधार मात्रै होइन, कार्यान्वय पक्षमा पनि विशेष जोड दिनुपर्ने उनले बताइन् ।
प्रकाशित समय : १९:५८ बजे


















