गृहपृष्ठ जसपा नेपालद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग, चार प्रदेशसभा सदस्यसहित दर्जनौं नेता–कार्यकर्ता निष्कासित
जसपा नेपालद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग, चार प्रदेशसभा सदस्यसहित दर्जनौं नेता–कार्यकर्ता निष्कासित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रसुवागढीको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको बैठकले उक्त निर्णय गरेको हो। पार्टीका संरक्षक महन्थ ठाकुरको समुपस्थितिमा तथा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले बाढीमा परी ज्यान गुमाएका देश–विदेशका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार तथा बाढीपीडितको व्यवस्थापनका लागि सरकारलाई प्रभावकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको छ।
बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा नेपालको रणनीतिक दिशा’ विषयक राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
त्यस्तै, पार्टीको केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ।
चार प्रदेशसभा सदस्यसहित नेता–कार्यकर्तामाथि कारबाही
बैठकले पार्टीको नीति, सिद्धान्त, विधान तथा निर्देशनविपरीत गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फबाट निर्वाचित हेमा वेल्वासे (केसी), बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको जसपाले जनाएको छ।
उनीहरूले पार्टीको नीति तथा निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको विषयमा छलफलपछि कारबाही गरिएको पार्टीको निर्णयमा उल्लेख छ।
यसैगरी पार्टीले विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहमा आबद्ध नेता–कार्यकर्तामाथि पनि अनुशासनसम्बन्धी कारबाही गरेको छ।
कारबाहीमा पर्नेमा सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतो, सुखवानन्कारकट्टी गाउँपालिका–४ का रमेशकुमार यादव, धनगढीमाई नगरपालिका–७ का विजयकुमार महतो, कर्जन्हा नगरपालिका–६ का प्रकाशमान श्रेष्ठ, वडा नम्बर ८ का शम्भुकुमार व्यार, वडा नम्बर ९ का मो. मुस्तकिम तथा वडा नम्बर ११ का किस्मत राई रहेका छन्।
त्यस्तै पर्साको कालिकामाई गाउँपालिका–३ का अध्यक्ष संजयकुमार पटेल र वडा नम्बर १ का अध्यक्ष लालबाबु राउत बरैलाई पनि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ।
पार्टीले विभिन्न प्रदेश तथा स्थानीय तहका अन्य निर्वाचित जनप्रतिनिधि र कार्यकर्तामाथि पनि पार्टी विधानअनुसार अनुशासनसम्बन्धी कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको जनाएको छ।
अग्रगामी मोर्चालाई समर्थन
जसपा नेपालको बैठकले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मत रूपमा स्वागत तथा समर्थन गर्ने निर्णयसमेत गरेको छ।
मोर्चाले सार्वजनिक गर्ने सम्पूर्ण कार्यक्रमलाई प्रभावकारी रूपमा सफल बनाउन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले सक्रिय सहभागिता जनाउने निर्णय गरिएको छ।
यसैबीच पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि विभिन्न जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।
निर्णयअनुसार पश्चिम नवलपरासीमा भदौ २१ गते, रुपन्देहीमा भदौ २२ गते तथा कपिलवस्तु र दाङमा भदौ २३ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ।
प्रकाशित समय : १८:२० बजे


















