गृहपृष्ठ बाढीपीडितका लागि एभरेस्ट स्कुल परिवारको ९ लाख ५ हजार रुपैयाँ सहयोग
बाढीपीडितका लागि एभरेस्ट स्कुल परिवारको ९ लाख ५ हजार रुपैयाँ सहयोग
भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा मानवीय सहयोगका लागि ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ सहयोग गरेका छन्।
दुवै विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलन गरिएको उक्त रकम जिल्ला प्याब्सन भक्तपुरमार्फत बाढीपीडितको राहतका लागि उपलब्ध गराइएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार जिल्ला प्याब्सन भक्तपुरले पठाएको पत्रअनुसार संकलित रकम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको जिल्ला प्याब्सनको खातामा जम्मा गरिएको हो। रकम जम्मा गरेपछि बैंक भौचरसमेत जानकारीका लागि जिल्ला प्याब्सनको कार्यालयमा पठाइएको विद्यालय प्रशासनले जनाएको छ।
बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले शिक्षक, कर्मचारी र विद्यार्थीको सहभागितामा सहयोग रकम संकलन गरिएको बताइएको छ।
विद्यालयले दिएको विवरणअनुसार एभरेस्ट इङ्लिस स्कुलबाट ६ लाख २३ हजार ४४ रुपैयाँ र एभरेस्ट भक्तपुर स्कुलबाट २ लाख ८२ हजार २ सय ६० रुपैयाँ संकलन भएको हो। दुवै विद्यालयबाट संकलित रकम जोड्दा कुल ९ लाख ५ हजार ३ सय ४ रुपैयाँ पुगेको छ।
एभरेस्ट इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र एभरेस्ट भक्तपुर स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीद्वारा जारी संयुक्त पत्रमा सहयोग रकम राहतका लागि उपलब्ध गराइएको उल्लेख गरिएको छ।
उक्त पत्रको जानकारी नगर शिक्षा कार्यालय भक्तपुर, केन्द्रीय प्याब्सन काठमाडौं तथा नगर प्याब्सन भक्तपुरलाई समेत पठाइएको जनाइएको छ।
भक्तपुर नगरपालिका–२, मिबाछेँ–व्यासीमा रहेका दुवै विद्यालय हाल संयुक्त रूपमा सञ्चालनमा छन्। एभरेस्ट इङ्लिस स्कुल सन् १९८३ मा स्थापना भएको विद्यालय हो।
प्रकाशित समय : १८:१४ बजे


















