गृहपृष्ठ लीपमोटर बी१० को आयात कोरला नाकाबाट गरिँदै

लीपमोटर बी१० को आयात कोरला नाकाबाट गरिँदै

लीपमोटर बी१० को आयात कोरला नाकाबाट गरिँदै

काठमाडौं । रसुवागढी नाका हुँदै चीनबाट नेपाल ल्याइँदै आएको लीपमोटर बी१० विद्युतीय गाडीको आयात मार्ग परिवर्तन गरिएको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण सडक तथा आवागमन प्रभावित भएपछि नेपालका लागि लीपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले बी१० को आयात कोरला नाका हुँदै गरिने कम्पनीले जनाएको हो ।

कम्पनीका अनुसार, रसुवागढी नाकाबाट हुने ढुवानीमा देखिएको अवरोधका कारण ग्राहकलाई गाडी हस्तान्तरणमा ढिलाइ नहोस् भन्ने उद्देश्यले मुस्ताङस्थित कोरला नाकाबाट आयात प्रक्रिया अघि बढाइएको हो ।

कोरला नाकाबाट ल्याइएका गाडीको भन्सार तथा ढुवानी प्रक्रिया तीव्र बनाइएको र ग्राहकलाई छिट्टै गाडी हस्तान्तरण सुरु गरिने कम्पनीले जनाएको छ ।

लीपमोटर बी१० मा पछिल्लो समय ग्राहकको चासो बढेको कम्पनीको दाबी छ । नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा बी१० का लागि उल्लेख्य बुकिङ प्राप्त भएकाले मागअनुसार गाडीको आपूर्ति सुनिश्चित गर्न वैकल्पिक आयात मार्ग प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्ने कर तथा शुल्क संरचनामा परिवर्तन गरेपछि बी१० को मूल्य घटाइएको थियो । हाल नेपाली बजारमा यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

बी१० मा १६० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । कम्पनीका अनुसार, यसले एकपटकको चार्जमा ६०० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

गाडीमा १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६० डिग्री क्यामेरा, हिटिङ तथा भेन्टिलेसन सुविधायुक्त लेदरेट सिट र प्यानोरामिक सनरुफ लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु