सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार
वि.सं.२०८३ कात्तिक ५ बिहीवार २१:२४
shares

सुनसरी। धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ ।
घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन् । टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन् ।
धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन् । यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ । गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने मात्र नभई घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ ।
धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थाल्नु भएको ६वर्ष भयो । उहाँले निकेतन गल्लीमा बिहानदेखि बेलुकासम्म सुकुटीसँगै त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएको छन् । उनले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभई विदेशमा समेत रहेको बताउनुभयो । विशेषगरी बेलायत,अमेरिका र हङकङलगायतका देशबाट सुकुटी तथा अचारको अर्डर आउने गरेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल अहिले व्यापारका लागि प्रभावकारी माध्यम बनेको छ । “दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ । सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहक धेरै छन्”, तामाङले भने ।
तामाङले एक पटकमा १२० केजीसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गरेको जानकारी दिनुभयो । घाम लागेका बेला सुकुटी सुकाउन सहज हुने उनको अनुभव छ । अहिले राम्रो घाम लाग्ने भएकाले तीन दिनमै सुकुटी सुक्ने गरेको उहाँले बताए । जाडोयाममा सुकाउन एक हप्तासम्म लाग्ने र घाम नलाग्दा आगोमा समेत सुकाउनुपर्ने हुँदा बढी समय लाग्ने उनको भनाइ छ । सुकुटीको व्यापारबाट मासिक ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको तामाङले बताए ।
धरान–१५ कै बिनिता गिरीले पनि ९ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएको छन् । उनका अनुसार बजारमा गुणस्तरअनुसार सुकुटी प्रतिकिलो एक हजार ६०० देखि तीन हजारसम्ममा बिक्री हुने गरेको छ । त्यस्तै, सुकुटीको अचार प्रतिकिलो रु एक हजार ६ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको उनले बताए ।
गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा तथा काठमाडौँसम्म पुग्ने गरेको छ । हङकङ र बेलायतलगायतका देशमा समेत सुकुटी पठाउने गरिएको उनले जानकारी दिए । सामाजिक सञ्जाल टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता माध्यमको प्रयोग बढेसँगै अनलाइनबाट व्यापार गर्न सहज भएको उनको अनुभव छ ।
घाम लाग्दा सुकुटी सुकाउन सहज हुने भए पनि घाम नलाग्दा दाउरा किनेर सुकाउनुपर्ने बाध्यता रहेको गिरीले बताए । यसले उत्पादन लागत बढाउने र व्यापारबाट हुने आम्दानीमा असर पार्ने उनको भनाइ छ ।
निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आउनुभएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको बताए । अलिकति मेहनत गर्ने हो भने सुकुटीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । उनले भन्े, “सुकुटीको व्यापारबाटै घरव्यवहार चलाउँदै आएको छु सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ ।”
धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन् । उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन् । कतिपयले सुकुटीसँगै अचार बनाएर बिक्री गर्छन् । भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार सुकुटी तथा अचार बिक्री गर्नेहरू पनि छन् ।
सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न ठुलो सहयोग पुगेको छ । एउटै उत्पादनबाट विभिन्न परिकार तयार पारेर बिक्री गर्न सकिने तथा सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पुग्न सकिने भएकाले यस व्यवसायप्रति महिलाको आकर्षण बढ्दै गएको व्यापारी बताउँछन् ।
























