थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १९:२३
shares
मध्यपुर थिमि(भक्तपुर), २७ असोज : पायो जात्रा हरेक वर्ष मध्यपुर थिमि लायकू दरबारबाट पापांकुशा एकादशीका दिन प्रदर्शन हुने भुइफसि पालेको जात्रा (कुभिण्डो काट्ने जात्रा) मा सहभागी गुठीयार भाला सहित प्रदर्शनी गर्दै । यस जात्रालाई पायो जात्रा पनि भन्ने गरिन्छ । जात्रा लायकू दरबारबाट दुईपोखरी, दिगुभैरव परिक्रमा गर्दै पुन लायकू, दथुटोल, मरूटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरि मन्दिर अगाडि भूई फसि काट्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस
भक्तपुर। मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो ।
कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याइ तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।
नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको पमा नाइके श्यामकाजी पमा श्रेष्ठले बताए ।
एकादशीका दिन आज तीन जना पमा (थकाली) बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहित संलग्नतामा जात्रा मनाइएको उनले बताए ।
बाजागाजासहित लायकुबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली पमा नाइके श्रेष्ठले कुभिण्डो काटेपछि त्यसलाई खोसेर लैजानेको भीड लागेको थियो । कुभिण्डोको टुक्रा टिपेर लानसक्नेको घरमा सुखशान्ति हुने र औषधिका रुपमा प्रयोग गर्न सकिने जनविश्वास रहिआएको छ ।
























