काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन

777
shares

पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका छन् । युरोपेली आयोगले बिहीबार यसबारे जानकारी दिएको हो ।

नोभेम्बर २०२३ मा युरोपेली उपभोक्ता समूहहरूले यी कम्पनीका बोतलबन्द पानीसम्बन्धी उत्पादनमा भ्रामक वातावरणमैत्री दाबी गरिएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि भएको छलफलमा कम्पनीहरूले बोतलमा प्रयोग गरिने केही शब्दावली परिवर्तन गर्न सहमति जनाएको आयोगले बताएको छ ।

यसअघि प्रयोग हुँदै आएको ‘म सत प्रतिशत रिसाइकल गरिएको प्लास्टिकबाट बनेको बोतल हुँ’ भन्ने नारालाई अब ‘यो बोतल सत प्रतिशत रिसाइकल गरिएको छ, बिर्को र लेबल बाहेक’ भन्ने सन्देशले प्रतिस्थापन गरिनेछ । यसबाट बिर्को र लेबलमा प्रयोग गरिएको सामग्रीसमेत रिसाइकल गरिएको हो भन्ने भ्रम हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, कम्पनीहरूले बोतलमा ‘मलाई फेरि रिसाइकल गर्नुहोस्’ भन्ने सन्देशको सट्टा ‘मलाई रिसाइकल गर्नुहोस्’ लेख्न सहमति जनाएका छन् । यसले उपभोक्तामा उक्त बोतल पहिले नै रिसाइकल भइसकेको छ भन्ने गलत धारणा उत्पन्न हुन नदिने आयोगको भनाइ छ ।

कम्पनीहरूले आफ्ना अनलाइन सञ्चार तथा डिजिटल प्रचार अभियानमा पनि ईयूसँग गरेका प्रतिबद्धता प्रतिबिम्बित हुने गरी वातावरणीय दाबी प्रस्तुत गर्नुपर्नेछ ।

युरोपेली आयोगले कम्पनीहरू र उपभोक्ता संरक्षण सहयोग सञ्जालबीचको वार्तालाई समन्वय गरेको थियो । उक्त सञ्जालमा ईयूका २७ सदस्य राष्ट्रका उपभोक्ता संरक्षणसम्बन्धी निकायहरू सहभागी छन् ।

आयोगका अनुसार, कोका–कोला र नेस्लेले विशेषगरी डिजिटल प्रचार अभियानमा प्रयोग गरिने रिसाइक्लिङसम्बन्धी दाबीमा सुधार गर्दै केही प्रतिबद्धता कार्यान्वयनसमेत गरिसकेका छन् ।

यस कदमलाई प्लास्टिकजन्य फोहोर, रिसाइक्लिङ र वातावरणमैत्री उत्पादनसम्बन्धी दाबीमा पारदर्शिता बढाउने ईयूको प्रयासका रूपमा हेरिएको छ ।