दक्षिण क्यारोलिनामा ग्राहमका लागि ट्रम्पको प्रचार
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १८:०९
shares

सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यारोलिनाको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमको पक्षमा चुनावी प्रचार तीव्र बनाएका छन ।
- दिवङ्गत सिनेटर लिन्डसे ग्राहमकी बहिनी डार्लिनलाई जिताउन उनले बुधबार चुनावी सभालाई सम्बोधन गरे ।
- ट्रम्पले डार्लिनलाई सक्षम उम्मेदवार भन्दै मत मागे र एन्ड्र्युजलाई अतिवादीको संज्ञा दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यारोलिनाको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमको पक्षमा चुनावी प्रचार तीव्र बनाएका छन । दिवङ्गत सिनेटर लिन्डसे ग्राहमकी बहिनी डार्लिनलाई जिताउन उनले बुधबार चुनावी सभालाई सम्बोधन गरे । परम्परागत रूपमा रिपब्लिकनको पकड रहेको यस राज्यमा डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले चुनौती बढाइरहेका छन ।
ट्रम्पले डार्लिनलाई सक्षम उम्मेदवार भन्दै मत मागे र एन्ड्र्युजलाई अतिवादीको संज्ञा दिए । रिपब्लिकनहरूले एन्ड्र्युजले ट्रान्सजेन्डर किशोरकिशोरीका लागि शल्यक्रियालाई समर्थन गरेको आरोप लगाएका छन् । एन्ड्र्युजले भने उक्त आरोप अस्वीकार गर्दै रिपब्लिकन नीतिले अर्थतन्त्र र परिवारको आर्थिक अवस्था कमजोर बनाएको दाबी गरेका छन ।
लिन्डसेको गत जुलाईमा मृत्यु भएपछि डार्लिनलाई सिनेटमा नियुक्त गरिएको थियो । तर, राजनीतिक अनुभव कम भएको भन्दै उनको योग्यतामाथि प्रश्न उठेको छ । ताइवानसम्बन्धी अमेरिकी नीतिबारे प्रश्न गर्दा राष्ट्रिय सुरक्षाबारे आफू त्यति जानकार नभएको उनको स्वीकारोक्तिले पनि आलोचना बढाएको थियो ।
निर्वाचन अभियानमा तीन करोड ४० लाख अमेरिकी डलरभन्दा बढी खर्च भइसकेको छ । एन्ड्र्युजको अभियानले गति लिएपछि रिपब्लिकन समर्थित समूहहरूले ग्राहमको पक्षमा लाखौँ डलर खर्च गरेका छन् । यद्यपि, रुसमाथि लगाइएका प्रतिबन्धबाट छुट दिने ट्रम्पको निर्णयलाई लिएर उहाँ र सिनेटरबीच मतभेद देखिएको छ ।
दुवै उम्मेदवारले एकमात्र प्रत्यक्ष बहसमा स्वास्थ्य सेवासहित विभिन्न विषयमा मतभेद व्यक्त गर्दै एकअर्काको अनुभव र योग्यतामाथि प्रश्न उठाएका थिए । एन्ड्र्युजले सबैले खर्च धान्न सक्ने दक्षिण क्यारोलिना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन भने ग्राहमले दाजुको मृत्युपछि जिम्मेवारी निर्वाह गर्नु आफ्नो क्षमता र दृढताको प्रमाण भएको बताएका छन ।
सन् २०२० मा लिन्डसे ग्राहमले डेमोक्रेटिक उम्मेदवार जेमी ह्यारिसनलाई १० प्रतिशत अङ्कको अन्तरले पराजित गरेका थिए । यसपटक एन्ड्र्युजका समर्थकहरूले बढ्दो महँगी र आर्थिक कठिनाइले मतदातामा असन्तुष्टि बढाएको भन्दै डेमोक्रेटहरूले भविष्यमा राज्यमा सफलता हासिल गर्न सक्ने आशा व्यक्त गरेका छन् ।
























