काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फ्रान्समा हिंसात्मक प्रदर्शनपछि विरोध कार्यक्रममाथि कडाइ, कफ्र्यु लगाउने तयारी

777
shares

फ्रान्सेली अधिकारीहरूले गत सातान्तमा भएका हिंसात्मक प्रदर्शनपछि देशभर विरोध कार्यक्रममाथि प्रतिबन्ध तथा नियन्त्रणका उपायहरू कडा पारेका छन् । जीवनयापनको बढ्दो लागतविरुद्ध भएका प्रदर्शनका क्रममा व्यापक लुटपाट, तोडफोड र आगजनी भएपछि सरकारले शान्ति सुरक्षा कायम गर्न कफ्र्युसहितका उपाय अपनाउने तयारी गरेको हो ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार प्रमुख मन्त्रीहरू तथा गुप्तचर अधिकारीहरूसँगको बैठकपछि शान्ति पुनर्बहाली गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले शुक्रबार रक्षा परिषद्को बैठक बोलाइएको जानकारी दिँदै शनिबार र त्यसपछिका दिनमा हुने राष्ट्रव्यापी प्रदर्शनबारे आवश्यक निर्णय गरिने बताए ।

अक्टोबर १७ मा जीवनयापनको बढ्दो लागतविरुद्ध पाँच लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए । त्यसक्रममा भएका झडप र हिंसात्मक घटनाले अधिकारीहरूलाई थप सुरक्षा व्यवस्था गर्न बाध्य बनाएको छ । सरकारले प्रहरी परिस्थितिमाथि पूर्ण नियन्त्रण कायम गर्न नसकेको स्वीकार गरेको छ ।

म्याक्रोँले हिंसाका गम्भीर घटनामा गणतन्त्रलाई कमजोर बनाउने उद्देश्य राखेका सङ्गठित अति–वामपन्थी समूहहरू सङ्लग्न रहेको आरोप लगाए । यद्यपि, आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने विपक्षी नेताहरूले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाएका छन् ।

विरोध प्रदर्शनमाथि प्रतिबन्ध

पेरिस प्रहरीले बिहीबार विद्यार्थीहरूले आयोजना गर्न लागेको प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धविरुद्ध वकिलहरूले अदालतमा अन्तरिम आदेश मागेका छन् । विद्यार्थी नेता कोपेलिया मोरोले सरकारले प्रदर्शनकारीलाई ‘असल’ र ‘खराब’ समूहमा विभाजन गर्न खोजेको आरोप लगाउँदै विरोध गर्न पाउने अधिकारमाथि हस्तक्षेप भइरहेको बताए ।

त्यस्तै, फ्रान्सको तेस्रो ठूलो सहर लियोनमा शनिबारका लागि तय गरिएका सबै प्रकारका प्रदर्शनमाथि प्रतिबन्ध लगाइएको छ । त्यहाँ गत सातान्तमा २०० देखि ३०० पसलमा लुटपाट हुनुका साथै एउटा पर्यटक कार्यालयमा आगजनी गरिएको थियो । ग्रेनोबल, रुएन, ले हाभ्र र तुलोनलगायतका सहरले पनि मुख्य केन्द्रहरूमा प्रदर्शन गर्न रोक लगाएका छन् ।

पेरिसमा भने शनिबार पूर्वी क्षेत्रको बास्टिलबाट प्रदर्शन सुरु गर्न अनुमति दिइएको छ । तर, पसल तथा प्रमुख सार्वजनिक भवनहरू रहेका सहरको मुख्य केन्द्रमा प्रवेश गर्न रोक लगाइएको छ । जीवनयापनको लागतविरुद्ध आन्दोलनरत ‘येलो भेस्ट’ समूहले सरकारको निर्णयप्रति असहमति जनाएको छ ।

पक्राउ र राजनीतिक आरोप–प्रत्यारोप

गत सातान्तको हिंसापछि प्रहरीले दुई हजार पाँच सय जनालाई पक्राउ गरेकोमा १७४ जनालाई थुनामा राखिएको र ९०० भन्दा बढीविरुद्ध कानुनी कारबाही अघि बढाइएको न्यायमन्त्री जेराल्ड डार्मानिनले बताएको छन् ।

लिमोज सहरको ऐतिहासिक नगर भवनमा आगजनी गरेको आरोपमा ६६ वर्षीय एक पुरुषलाई बिहीबार पक्राउ गरिएको छ । उक्त घटनामा सङ्लग्न भएको आशङ्कामा अर्का एक पुरुष पनि यसअघि पक्राउ परेका थिए ।

अति–दक्षिणपन्थी नेतृ मरिन ले पेनले सरकार कमजोर भएको आरोप लगाउनुभएको छ । अर्कोतर्फ, अति–वामपन्थी नेता जाँ–लुक मेलन्शोनले अशान्तिका लागि सरकारी दमन जिम्मेवार रहेको बताएको छन् ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले बिहीबार प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । उनले आगामी दिनमा नगर प्रमुखहरू र विद्यार्थी समूहसँग पनि संवाद गर्ने कार्यक्रम रहेको छ ।रासस