पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
वि.सं.२०८३ कात्तिक ५ बिहीवार २०:०२
shares

म्याग्दी। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन् ।
गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्र्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी र म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरुसँग मन्त्री लम्सालले विपद्पछिको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने बताए ।
“कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकीको बाढी, पहिरोलगायत विपद्बाट क्षति पुगेको देशभरका भौतिक संरचनाको पुनःनिर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ, बजेटको अभाव हुँदैन,” मन्त्री लम्सालले भने “जति सक्दो छिटो सर्वेक्षण र लागत अनुमानको काम सकेर बजेट माग गर्नुहोस, पुनःनिर्माणमा ढिलाई हुन नदिन सरकार सचेत छ ।”
पुनःनिर्माणका लागि आवश्यक पर्ने नदीजन्य स्रोतको व्यवस्थापनमा सहजीकरण गर्नका लागि स्थानीय प्रशासनलाई मन्त्री लम्सालले निर्देशन दिए । उनलाई कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बाढी पहिरोका कारण करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुगेको र पुनःनिर्माणका लागि करिब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी गराएको थिए ।
मन्त्री लम्साललाई बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी र उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयोजना पुनःनिर्माणका लागि आवश्यक पर्ने बजेटको ब्यवस्था गरिदिन अनुरोध गरेको थिए । यसैगरी बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बाढीका कारण क्षतिग्रस्त कुण्डको पुनर्निर्माणका लागि बजेट माग गरे ।
खानेपानी र तातोपानी कुण्डका प्रतिनिधीलाई मन्त्री लम्सालले ब्यवस्थित योजना बनाएर बजेटका लागि पेस गर्न आग्रह गरे । मध्यपहाडी लोकमार्गको बैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–ढोरपाटन सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोमा यातायात सञ्चालनमा देखिएको असहजतालाई समाधान गर्न सरकारको ध्यानाकर्षण भएको बताए ।
म्याग्दीका बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि मन्त्री लम्सालको टोली मध्यपहाडी लोकमार्गको निरीक्षणमा बागलुङ गएको प्रजिअ गैरेले बताए ।
























