गृहपृष्ठ सानिमा बैंकको सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव
सानिमा बैंकको सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौं । सानिमा बैंकले आफ्ना साधारण सेयरधनीहरूलाई वितरण गर्ने लाभांश दरमा वृद्धि गरेको छ । गत आर्थिक २०८२/८३ को नाफाबाट साधारण सेयरधनीहरूका लागि चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । गत वर्ष ७.३६८५ प्रतिशत मात्र थियो ।
अग्राधिकार सेयरधनीहरूका लागि वार्षिक ८.२५ प्रतिशत नगद लाभांश (बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको समानुपातिक रूपमा) प्रस्ताव गरिएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद नाफा ३८.०१ प्रतिशतले वृद्धि भई ३.५५ अर्ब रुपैयाँ पुगेको छ । नाफामा भएको यो आकर्षक वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि गत वर्षको सोही अवधिको १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ ।
बैंकको इक्विटीमा प्रतिफल (आरओई) अघिल्लो वर्षको सोही अवधिको ११.७० प्रतिशतको तुलनामा सुधार भई १४.३९ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि गत वर्षको १५.४८ रुपैयाँबाट बढेर २०.८६ रुपैयाँ कायम भएको छ ।
यससँगै, बैंकको व्यवसाय विस्तार पनि आक्रामक देखिएको छ । बैंकको खुद कर्जा तथा सापटी प्रवाह ११.१९ प्रतिशतले वृद्धि भई २०३.९९ अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेप संकलनमा १०.८४ प्रतिशतको वृद्धि दर्ता गर्दै २४९.९३ अर्ब रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।
बैंकको कर्जाको गुणस्तरमा सुधार आउँदा निष्क्रिय कर्जा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर २.८७ प्रतिशत कायम भएको छ ।
प्रकाशित समय : १६:४० बजे


















