गृहपृष्ठ म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै
म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै
तनहुँ । म्याग्दे गाउँपालिकामा उद्यम तथा व्यवसाय विस्तारसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर बढ्दै गएका छन् । व्यापार, कृषि तथा पशुपालन, होटल तथा रेष्टुरेन्ट, पर्यटन, सेवा तथा उत्पादनमूलक क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने क्रम बढेसँगै गाउँपालिकाको आर्थिक गतिविधि पनि विस्तार हुँदै गएको हो ।
गाउँपालिकाको आर्थिक विकास शाखाका अनुसार हालसम्म विभिन्न प्रकृतिका ५१४ वटा व्यवसाय तथा उद्यम दर्ता भएका छन् । व्यवसाय दर्ताको तथ्याङ्कले स्थानीय नागरिक उद्यमशीलतातर्फ आकर्षित हुँदै गएका र स्थानीय सीप, श्रम तथा पुँजीलाई गाउँमै परिचालन गर्ने वातावरण निर्माण हुँदै गएको शाखा प्रमुख प्रदीप न्यौपानेले बताए ।
उनका अनुसार म्याग्देमा किराना पसल, खाजा तथा होटल, रेष्टुरेन्ट, कृषि तथा पशुपालन फार्म, कपडा पसल, वर्कसप, सिलाइकटाइ, राइस मिल, फर्निचर, ब्यूटीपार्लर, इलेक्ट्रोनिक्सलगायत व्यवसाय सञ्चालनमा छन् । पर्यटन क्षेत्रलाई आधार बनाउँदै तीनवटा सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा आएका छन् ।
गाउँपालिकामा सबैभन्दा बढी १५५ वटा किराना पसल दर्ता भएका शाखा प्रमुख न्यौपानेले जानकारी दिए । उनका अनुसार १०८ खाजा तथा होटल, रेष्टुरेन्ट, १०३ कृषि तथा पशुपालन फार्म सञ्चालनमा छन् । साथै कपडा पसल, वर्कसप, सिलाइकटाइ, भाडा पसल, राइस मिललगायत व्यवसायी दर्ता भई सञ्चालनमा छन् । ग्यारेज, हार्डवेयर, सुनचाँदी, सामुदायिक घरबास, बेकरी, सैलुन, चाउमिन र खानी व्यवसाय दर्ता भएका छन् ।
म्याग्देमा दर्ता भएका १०० कृषि तथा पशुपालन फार्मले स्थानीय उत्पादनलाई व्यवसायसँग जोड्ने सम्भावना देखिएको न्यौपानेको भनाइ छ । कृषि तथा पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउँदा स्थानीय उत्पादन वृद्धि हुनुका साथै गाउँमै रोजगारी र आयआर्जनका अवसर सृजना गर्न सकिने उनले उल्लेख गरे ।
कृषि उत्पादन, पशुपालन तथा त्यसमा आधारित व्यवसायले स्थानीय बजारलाई समेत चलायमान बनाउन सहयोग पुर्याएको छ । कृषि उत्पादन होटल तथा रेष्टुरेन्टमा खपत हुने र स्थानीय बजारमा बिक्री वितरण हुने भएकाले एउटा व्यवसायले अर्को व्यवसायलाई समेत टेवा पुर्याउने अवस्था बनेको उनले बताए ।
प्रकाशित समय : १८:०९ बजे


















