गृहपृष्ठ गरिमा विकास बैंकले प्रस्ताव गर्यो २० प्रतिशत लाभांश
गरिमा विकास बैंकले प्रस्ताव गर्यो २० प्रतिशत लाभांश
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नगद लाभांशमा प्रस्तावित बोनस शेयर तथा नगद लाभांशको करसमेत समावेश रहेको बैंकले जनाएको छ।
बैंकको हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा रहेको छ। सोही पुँजीका आधारमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।
१० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ।
काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित समय : १८:१२ बजे


















