गृहपृष्ठ निलम्बित सांसद आलमविरुद्ध मुद्दा दर्ता, सर्वस्वसहित जन्मकैद सजाय माग
निलम्बित सांसद आलमविरुद्ध मुद्दा दर्ता, सर्वस्वसहित जन्मकैद सजाय माग
जिल्ला सरकारी वकिल कार्यालय, राैतहटले दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको आरोप लागेका सांसद मोहम्मद अफताब आलमविरुद्ध मुद्दा दर्ता गरेकाे छ ।
आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो । थुनछेककाे बहस भने मंगलबारमात्र हुने अदालतले जनाएकाे छ ।
वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको अभियोगपत्र दर्ता गराएको हो ।
आलमबाहेक अरु सबै फरार छन् । उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ । अभियोगपत्रमा सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले ‘कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने’ अपराध गरेको दावीसहित उल्लेखित तीनवटै कसूरमा सजाय माग गरेको छ ।
त्यस्तै घटनाका घाइते सफी अहमद र गौरीशंकर राम चमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर र मुलुकी अपराध संहिताको १८३ (२) बमोजिम कारबाही गर्न मागदावी गरिएको छ ।
मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ज्यान मार्ने उद्योग गर्नेलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यही कसूरमा मुलुकी अपराध संहिताले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । त्यस्तै मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १ र १३ (१) अनुसार र मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार कारबाही गर्न माग गरिएको छ । यो कसूरमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।
प्रकाशित समय : २१:४३ बजे


















