global ime bank Long Banner Ad

गृहपृष्ठ डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिलेको युगमा अत्यावश्यक साधनको रुपमा रहेको विद्यु र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकार नै यस्तो समस्या भोग्न बाध्य छन् ।

यहाँका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने त्रिपुरासुन्दरी नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिन्छ । नगरपालिकाअन्तर्गत वडा नं ३ र ४ मा पर्ने जीउ, सुँ र रङ गाउँमा एक दिन पालो पर्खेर छिकेकी नगरपालिकाको विद्युत् सेवा लिनुपर्ने बाध्यता छ ।

उक्त वडामा टावरले राम्रोसँग काम गर्दैनन् । भरपर्दो टेलिफोन सुविधा नहुँदा जनताले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएको वडा नं ४ का अध्यक्ष श्रीदल बुढाले बताए । त्यसैगरी वडा नं ५ र ६ मा पर्ने ल्हाँ, फुल्चिङ र खदाङका नागरिक अन्धकारमै बानी परेका छन् ।

पालङ गाउँमा बनेको खातीखोला जलविद्युत् अवरुद्ध भहने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेको स्थानीय मोती उपाध्यायले बताए । पटकपटक अवरुद्ध भइरहने भएकाले टेलिफोन टावरको हालत पनि विद्युतको जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उनले बताए ।

ठूलीभेरी नगरपालिकाको जुफालमा राखिएको टावरले काम नगर्दा सञ्चार सम्पर्क हुँदैन । ‘सिङ्गो गाउँमा कतै पनि फोन टिप्दैन, फोनमा कुरा गर्न हात घुमाउँदै गाउँदेखि दस मिनेट माथि डाँडामा पुग्नुपर्छ,’ खालीवनका स्थानीय विष्णु गुरुङले गुनासो गरे । त्रिपुरासुन्दरी नगरपालिका कार्यालय रहेको वडा नं १ बगर क्षेत्रमा टेलिफोन लाग्दैन । नगरपालिको आफ्नै टावर छैन, छिमेकी नगरपालिकामा राखिएको टावरले काम नगरेपछि नगरपालिका कार्यालय नै सञ्चारविहीन छ ।

नगर क्षेत्रमा टावर राख्न बोलपत्र भएर ठेकेदारले जिम्मा लिए पनि शीघ्रताका लागि ताकेता नभएको स्थानीय बताउँछन् । जिल्ला भरि नै विद्युतको पनि चरम समस्या छ । चालु जलविद्युत् पनि कमजोर बाँध र कम क्षमताको उपकरणको समस्या त छँदै छ हिँउदमा कम पानी भएर र वर्षातमा खोला बढेर अवरुद्ध हुने गर्छन् ।

सदरमुकाम दुनैसहित जोडिएको ठूलीभेरी नगरपालिकाको जैरीगाड जलविद्युत् आयोजनाको भर छैन । वर्षमा दर्जन धेरै पटक अवरुद्ध भइराख्ने भएकाले अधिकांश समय नागरिक अन्धकारमै बस्छन् । नहर निर्माण गरिएको भूगोल कमजोर भएकाले सुक्खा पहिरोले बारम्बार विद्युत् अवरुद्ध गर्ने गर्छ । स्थानीय प्रदेश हुँदै केन्द्रसम्म नगरप्रमुख, सांसददेखि मन्त्रीसम्म भए पनि विद्युतको अवस्था सुधारका लागि कसैको पनि ध्यान नगएको दुनैवासीको गुनासो छ ।

तल्लो डोल्पाअन्तर्गत पर्ने जगदुल्ला मुड्केचुला गाउँपालिकामा विद्युत् र सञ्चारको चरम समस्या रहेको छ । जगदुल्ला गाउँपालिकामा सञ्चारको सुविधा राम्रो भए पनि विद्युतको चरम समस्या रहेको छ । विद्युत् नहुँदा गाउँपालिका कार्यालयनै सौर्य ऊर्जाको भरमा चलेको छ । बादल लाग्दा सोलारले काम नगर्ने भएकाले काम गर्न साह्रै समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेले जानकारी दिए ।

हुरीकोटमा उत्पादन गरिएको विद्युत्ले हुरिकोट, थापागाउँ र चौरीकोट गाउँ झिलीमिली भए पनि नजिकै जोडिएका झ्याकोट र रिमी गाउँमा अन्धकारमा छन् । छिमेकी गाउँसम्म आएको विद्युत् विस्तारका लागि पहल गरे पनि विद्युत् समितिले नमानेको झ्याकोटका स्थानीयले गुनासो गरे । कादुरी नामको संस्थाले निश्चित गाउँका लागि मात्रै उत्पादन गरेकाले क्षमताले नभ्याउने बताउँदै विद्युत् विस्तार नगरिएको विद्युत् समितिले जनाएको छ ।

त्यसैगरी मुड्केचुला गाउँपालिकाको नर्कुबाहेक कालिका, शर्मी, ओक्ट होर्तलगायतका गाउँमा बत्तीको सुविधा छैन । गाउँपालिकाको अधिकांश क्षेत्रमा बत्तीको सुविधा नहुँदा हुनेखाने मात्र सोलारको उज्यालामा बसेका छन् । विद्युत् सेवा उपलब्ध गराइदिन हिजोदेखि आजसम्म स्थानीय सरकार, माननीय मन्त्रीहरुलाई गुनासो गरे पनि सुनुवाइ नभएको शर्मीका स्थानीयको गुनासो छ । मुड्केचुलामा सञ्चारको अवस्था अझ भयावह छ । टेलिफोन सुविधा नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् ।

सूचना आदानप्रदान गर्न त्यहाँका नागरिकलाई अग्ला रुख र पहाड उक्लँदै ठिक्क छ । टावरको स्याटलाइट चाइनाले बन्द गरिदिएपछि गाउँपालिका नै दुई सातादेखि सञ्चारविहीन भएको छ । त्यसैगरी काइको गाउँपालिकामा पनि सञ्चारको समस्या छ । दुई सातादेखि टावर अवरुद्ध भएपछि सञ्चार समस्या भएको हो । चीनले स्याटलाइट बन्द गरेपछि यहाँको टेलिफोन टावर अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष अगंत रानाले बताए ।

काइकेमा विद्युतको पनि चरम समस्या छ । लामो समयदेखि निर्माणाधीन ५० किलोवटाको ब्यासगाड लघु जलविद्युत्, १५ किलोवाटको छेयकाम लघुलविद्युत् आयोजना त्यसै अलपत्र परेका छन् । विद्युतको सुविधा नहुँदा सहरतारा, गुम्बातारा, टुप्पातारा, खानीकोलालगायत गाउँ विद्युत् सेवाविहीन छन् । हुनेखानेले सोलार जोडेका छन् भने कमजोर आर्थिक अवस्था भएका स्थानीय अन्धकारमै बस्न बाध्य भएका छन् ।

उपल्लो डोल्पाका स्थानीय तहमा भने सञ्चारको समस्या समाधान भएको छ । उपल्लो डोल्पाका फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ् गाउँपालिकामा विभिन्न ठाउँमा नमस्तेका मोबाइल टावर निर्माण भएपछि वर्षौंदेखिको टेलिफोन असुविधा हटेको हो । सञ्चारको सुविधा सुधार भए पनि विद्युतको समस्या भने यथावत् छ । उपल्लो डोल्पाका कुनै पनि स्थानीय तहमा विद्युतको सुविधा छैन । विद्युत् नभएपछि सम्पूर्ण नागरिक सोलारको भरमा रहेका छन् । (रासस)

प्रकाशित समय : २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु