global ime bank Long Banner Ad

गृहपृष्ठ ‘भारतले जारी गरेको नक्सा नसच्चाएसम्म विरोध जारी रहन्छ’

‘भारतले जारी गरेको नक्सा नसच्चाएसम्म विरोध जारी रहन्छ’

‘भारतले जारी गरेको नक्सा नसच्चाएसम्म विरोध जारी रहन्छ’

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध र्‍याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको विरोध गरिएको हो ।

विरोधसभामा बोल्दै नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरी जारी गरेको नक्साको बारेमा सरकारले तत्काल चासो दिएर अन्तर्राष्ट्रिय मञ्चलाई घच्चघचाउनुपर्ने बताए । उनले सत्तामा रहेका दल र ठूला राजनीतिक दलहरुले तत्काल भारतको विरोध गर्न नसक्दा भारतले सीमा अतिक्रमण गरेको विचार व्यक्त गरे ।

जम्मु कश्मीरमा भारतको हस्तक्षेपबारे नेपाली नेताले बोल्न नसक्नु र संयुक्त राष्ट्रसङ्घमा भएको सभामा नेपाली पक्षले सीमा विवादबारे विषय उठाउन नसक्दा अहिले भारतले नेपालको सीमा मिच्न बल पुगेको उनको आरोप छ ।

सांसद सुवालले नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्सा नसच्चाएसम्म नेमकिपाले सडक र सदनमा विरोध जारी राख्ने बताए । (रासस)

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु