गृहपृष्ठ ककपिटमा युवती, पाइलटलाई प्रतिबन्ध
ककपिटमा युवती, पाइलटलाई प्रतिबन्ध
एक चिनियाँ विमानको ककपिटमा लिइएको एक युवतीको तस्बिर भाइरल भएपछि पाइलटलाई प्रतिबन्ध लगाइएको छ । सञ्चार माध्यमका अनुसार यो तस्बिर जनवरीमा ग्वायलिनबाट याङझु उड्दै गरेको एयर ग्वायलिनको एक विमानमा खिचिएको थियो । यसै साता तस्बिर भाइरल भएपछि पाइलटलाई कारबाही गरिएको हो ।
तस्बिरमा ककपिटमा बसेकी युवतीसँगै खाजा पनि राखिएको छ । एयर ग्वायलिनका अनुसार पाइलटले हवाई सुरक्षा नियम उल्लंघन गरेका थिए । उक्त तस्बिरको स्क्रिनसट माइक्रो-ब्लगिङ साइट भिबोमा व्यापक सेयर गरिएपछि यो घटनाबारे एयरलाइनले आइतबार मात्र चाल पायो ।
तस्बिरमा महिलाले चिनको लोकप्रिय पोज आफ्ना औंलाले ‘भी’ आकार बनाएकी छन् । बिबिसीका अनुसार तस्बिरसँगै युवतीले क्याप्टेनसँग खुसी भएको भन्दै उनीप्रति धन्यवाद व्यक्त गरेकी छन् । समाचार बेवसाइट चिनियाँ न्युज सर्भिसका अनुसार ती महिलाले ग्वायलिन विश्वविद्यालयमा एयर होस्टेसको तालिम लिँदै थिइन् ।
एयरलाइनले उक्त तस्बिर उडानका क्रममै लिएको किटान नगरे पनि चिनियाँ पाइलट र विश्लेषकहरूले तस्बिर उडानकै क्रममा खिचिएको बताएका छन् । नाम उल्लेख नगरे पनि पाइलटलाई आजीवन उडानमा प्रतिबन्धत लगाइएको छ । एयरलाइनले पाइलटलाई सबै पदबाट हटाएको भने पुष्टि भइसकेको छैन । एयर ग्वायलिनले पाइलटले ककपिटमा बाह्य व्यक्तिलाई आउने अनुमति दिएर नियम उल्लंघन गरेको उल्लेख गरेको छ ।
प्रकाशित समय : २०:११ बजे



















