हिमपातले लिमी र हिल्सा सडक अवरुद्ध, हिउँ पन्छाउन स्थानीयको माग
हेमन्तत केसी,
वि.सं.२०८३ असोज २० मंगलवार ०९:२०
shares

सारांश
- लिमी–हिल्सा सडक बन्द: न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेपछि यातायात अवरुद्ध ।
- दैनिक जीवन प्रभावित: बिरामी तथा अत्यावश्यक कामका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था, प्रहरी चौकीमा समेत दाउरा र खानेपानीको समस्या ।
- जेसिबी आवश्यक: नारा लेकको हिउँ पन्छाउन जेसिबी प्रयोग गर्नुपर्ने भन्दै स्थानीयले तत्काल सडक सञ्चालनको माग गरेका छन् ।
सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका न्यालु र नारा लेकमा बाक्लो हिमपात भएपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ । सडकमा साढे तीन फिटसम्म हिउँ जमेपछि स्थानीयवासीले तत्काल हिउँ पन्छाएर यातायात सञ्चालन गर्न माग गरेका छन् ।
नाम्खा–५ स्थित न्यालु र वडा नं. ६ स्थित नारा लेक हुँदै लिमी जाने सडक असोजको पहिलो सातादेखि नै बन्द छ । सडक अवरुद्ध हुँदा लिमीका स्थानीयलाई अत्यावश्यक कामका लागि समेत बाहिर जान कठिन भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
उनका अनुसार लिमीमा कोही बिरामी परे वा अन्य आकस्मिक कामका लागि बाहिर जानुपरे हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ । दसैँ–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई समेत घर फर्किन समस्या भएको उनले बताए ।
लिमी प्रवेश गर्ने प्रमुख नाकामध्ये पाँच हजार मिटर अग्लो न्यालु लेकमा बाक्लो हिउँ जमेको छ । सडक अवरुद्ध हुँदा लिमीका तिल गाउँका १८, हल्जीका ९०, जाङका ३ र तुम्लिङका ११ जना होटल व्यवसायी प्रभावित भएका छन् । ताक्चीमा पनि दुई वटा होटल सञ्चालनमा छन् ।
प्रहरी चौकीमा दाउरा र खानेपानीको समस्या
हिमपातका कारण लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीसमेत प्रभावित भएका छन् । तीन दिन लगातार भएको हिमपातपछि चौकी आसपास करिब तीन फिट हिउँ जमेको छ ।
दाउरा नपाउँदा खाना पकाउन तथा धाराको पानी जम्दा खानेपानी व्यवस्थापनमा समस्या भएको वडाध्यक्ष तामाङले बताए । आवश्यक दाउरा र खाद्यान्न हल्जी गाउँबाट बोकेर ल्याउनुपर्ने अवस्था छ ।
सडकमा हिउँ जमेकाले रासन तथा अन्य सामग्री पैदलै चौकीसम्म पुर्याउनुपरेको छ । सुनखानी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकसहित १० जना प्रहरी कार्यरत छन् । हल्जीमा फोरजी सेवा सञ्चालनमा रहेकाले प्रहरीहरू दिनमा एक पटक करिब चार घण्टा पैदल हिँडेर हल्जी पुग्ने र त्यहाँबाट आवश्यक सूचना आदानप्रदान गर्ने गरेका छन् ।
नारा लेकमा जेसिबीबाट मात्रै हिउँ पन्छाउन सकिने
चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेको छ । यसका कारण हिल्सा–सिमकोट सडकखण्डसमेत अवरुद्ध भएको छ ।
हिल्सास्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकीका प्रहरी निरीक्षक केदार सापकोटाले जेसिबी प्रयोग नगरी सडकमा जमेको हिउँ पन्छाउन सम्भव नरहेको बताए ।
हिल्सास्थित मानसरोवर होटलकी सञ्चालक पेमा लामाले पनि नारा लेकको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न हिल्सा–सिमकोट सडक योजनासँग आग्रह गरेकी छन् । हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी, होटल व्यवसायी र केही स्थानीय व्यापारी बस्दै आएका छन् ।
स्थानीयका अनुसार यस वर्ष हिल्सामा विगत १५ वर्षयताकै चाँडो हिमपात भएको हो । यसअघि कात्तिकपछि मात्रै बाक्लो हिमपात हुने गरेकामा यस वर्ष असोज १० गतेदेखि नै हिमपात भएको उनीहरूको भनाइ छ ।
मौसममा आएको परिवर्तनका कारण यस वर्ष चाँडै हिमपात भएको स्थानीयको अनुमान छ । दसैँ–तिहार नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई घर फर्किनसमेत समस्या भएको छ ।






















