काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

390
shares

चितवन । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ । यस वर्ष विश्व अण्डा दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ तय गरिएको छ ।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदैछ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।

दिवसको अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको संघले जनाएको छ । गत सातादेखि भेटेरिनरी चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकलाई अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जानकारी दिइरहेका छन् ।

संघको मुख्य आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसईसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रमसमेत आयोजना हुँदैछ । असोज २३ गते बिहान ७ बजे उद्योग संघ चितवनको परिसरबाट ‘एग वाक’ सुरु भएर नारायणगढको सहिद चोकमा पुगेर समापन हुनेछ ।

‘एग वाक’मार्फत अण्डामा पाइने पोषक तत्व, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव तथा दैनिक आहारमा यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको संघले जनाएको छ ।

सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसनसमेत आयोजना गरिनेछ । कार्यक्रममा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकालगायत विषयमा छलफल गरिनेछ ।

फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी१२, कोलिन र लेसिथिनजस्ता शरीरका लागि आवश्यक पोषक तत्व पाइन्छन् । त्यस्तै, अण्डामा भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कजस्ता पोषक तत्वसमेत पाइने उनले बताए ।

अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको वृद्धि तथा विकासमा महत्वपूर्ण भूमिका खेल्ने डा. अधिकारीको भनाइ छ ।

उनका अनुसार अण्डामा पाइने कोलिनले मस्तिष्क तथा स्नायु प्रणालीको सामान्य कार्यमा सहयोग गर्छ । त्यस्तै, पहेँलो भागमा पाइने ल्युटिन तथा जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा योगदान पुर्‍याउँछ ।

पहेँलो भागका विषयमा विगतमा रहेको धारणा परिवर्तन हुँदै गएको पनि उनले बताए । सन्तुलित तथा विविधतायुक्त आहारमा अण्डालाई महत्वपूर्ण खाद्य पदार्थका रूपमा लिन सकिने उनको भनाइ छ ।

यसैबीच, नेपालमा कुखुरापालक किसान विस्थापित हुने अवस्था आएपछि चार वर्षअघि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको बजारीकरणमा काम गर्दै आएको छ । संघका अनुसार पछिल्लो समय अण्डाको बजारीकरणमा सुधार आउन थालेसँगै नयाँ किसानसमेत कुखुरापालन व्यवसायमा प्रवेश गर्न थालेका छन् ।

लामो समयसम्म उत्पादन लागतअनुसारको मूल्य नपाउँदा किसान विस्थापित हुने अवस्था आएको संघका अध्यक्ष पोखरेलले बताए । संघको पहलमा पछिल्ला दिनमा किसानले लागत मूल्य पाउन थालेको उनको दाबी छ ।

उत्पादन बढेसँगै अण्डाको खपत पनि बढाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको पोखरेलले बताए । उनका अनुसार अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी जानकारी उपभोक्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले सहयोग गर्नेछ ।